image
image

क्याम्पसचोक पहिरोको उच्च जोखिममा

काठमाडौँ २२ भदौ  ।  बस्तीमाथिको पाखो भासिएर पहिरो चल्न थालेपछि म्याग्दीको सदरमुकाम बेनीको क्याम्पसचोक क्षेत्र उच्च जोखिममा परेको छ । खरेनी र आँपरुखको पाखोमा पहिरो चल्न थालेपछि बेनी नगरपालिकाको वडा नं ८ मा पर्ने क्याम्पसचोक, गणेशटोल, पिपलचोक र कालीपुल जोखिममा परेको हो । गणेशटोल सुधार समितिका संयोजक ठाकुरप्रसाद शर्माले पहिराको फेदीमा रहेको बजारमा बाढी आउने खतरा रहेको बताए ।


“करिब ५०० मिटर लम्बाइ र ५०० मिटर चौडाइ क्षेत्रफल भएको पाखो चिराचिरा परेर बग्न तयार भएर बसेको छ”, उनले भने, “यो पहिराले चारवटा टोल र म्याग्दी बहुमुखी क्याम्पस जोखिममा परेको छ ।” करिब ३०० घर पहिरो र बाढीको जोखिममा रहेका शर्माले बताए ।


क्याम्पसचोकबाट करिब ८०० मिटरमाथिको पाखोमा दुईवटा पहिरो छन् । पहिराको फेदीदेखि क्याम्पसचोक हुँदै कालीपुलको मोटरेबल पुलसम्म नहर बनाएर खोल्साको पानी र बाढी व्यवस्थापन गरिएको छ । पहिराले साबिकको ठाउँभन्दा करिब तीन मिटर तल जमिन लच्किएको क्याम्पसचोकका बासिन्दा यामबहादुर बानियाँले बताए ।


बलौटे माटो भएको पाखोमा सल्लाको रुखको जङ्गल छ । “जमिन धाँजा फाटेर डेढ सयभन्दा बढी सल्लाका रुख ढलेका छन्”, बानियाँले भने, “पहिरो गएको छेउछाउमा टेक्दा जमिन खुट्टा गाडिन्छ । ठूलो वर्षात् हुँदा ढलेका रुख, ढुङ्गा र माटोसहित बाढीले क्याम्पसचोकमा क्षति पुग्ने जोखिम छ ।”

पहिरोका कारण सामान्य वर्षात् हुँदासमेत क्याम्पसचोक र कालीपुल क्षेत्रमा बाढी आउन थालेको छ । गत असारमा यो ठाउँमा सुरु भएको पहिरो चल्न अझै रोकिएको छैन । क्याम्पसचोक क्षेत्रमा बाढीको निकासका लागि बेनी नगरपालिकाले घर खरिद गरेर नाली बनाएको छ । तर सो नालीको क्षमताभन्दा ठूलो बाढी आउने गरी नयाँ पहिरो सिर्जना भएपछि क्याम्पसचोकवासी चिन्तित भएका स्थानीय रेमबहादुर विश्वकर्माले बताए । उनले बेनी नगरपालिकाको वडा नं ६ मा पर्ने आँपको रुखदेखि सार्कीटोल जोड्ने सडकका कारण पहिरो सिर्जना भएको बताए ।

सडक खन्दा डोजरले पाखोमा फालेको माटो बगेर सिर्जना भएको पहिराले ठूलो रूप लिन थालेको विश्वकर्माको भनाइ छ । सल्लाको जङ्गलको बीचमा खनिएको सडकको तल र माथि दुवैतर्फ पहिराले जमिन भासिएको छ । क्याम्पसचोकका बासिन्दासमेत रहेका बेनी नगर कार्यपालिकाको सदस्य कृष्णकुमार विश्वकर्माले जोखिमयुक्त ठाउँको स्थलगत निरीक्षण गरेर थप क्षति हुन नदिन र पहिरो नियन्त्रण गर्न पहल गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।