image
image

कप्तान पारसलाई संन्यास फिर्ता लिन सदस्य सचिव रमेशकुमार सिलवालको आग्रह

काठमाडौा, २०, भदौ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर तथा कप्तान पारस खड्कालाई संन्यास फिर्ता लिन आग्रह गरेका छन् । लगत्तै पारसले आफ्नो निर्णयबाट फिर्ता हुने कुनै सम्भावना नरहेको जवाफ दिए ।

कसमस कलेजले पारसलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको कार्यक्रममा सदस्यसचिव सिलवालले पारसको अप्रत्याशित संन्यास घोषणाबाट अचम्मित भएको बताए । ‘नेपाली क्रिकेटमा महान् खेलाडी बन्ने गरी योगदान दिएका पारस खड्काले कुनै प्रतिस्पर्धात्मक खेलबाट संन्यास लिनुपर्छ भन्ने लागेको थियो,सिलवालले भने, ‘अभिभावक संस्था प्रमुखको हैसियतले उहाँले मसँग पनि परामर्श लिनुभएन । तर म उहाँको निर्णयको सम्मान गर्छु ।

नेपाली क्रिकेटका सर्वाधिक सफल खेलाडी पारसले डेढ दशकभन्दा लामो अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट अघिल्लो महिना बिदा लिने निर्णय गरेका थिए । पारसको अप्रत्याशित निर्णयले नेपाल क्रिकेट संघ (क्यान) सहित समर्थक आश्चर्यमा परेका थिए ।

‘क्रिकेटमा अन्तर्राष्ट्रिय खेलाडीहरूको सफलता हेर्दा उनीहरूले ३४ देखि ३८ वर्षको उमेरमा हासिल गरेको देखिन्छ । उहाँले ३४ वर्षको उमेरमै संन्यास लिन हतार गर्नुभयो कि ?, सदस्य सचिवले भने ।

सदस्य सचिव सिलवालले लियोनल मेसीको उदाहरण दिँदै राष्ट्रलाई आवश्यक परेको अवस्थामा संन्यास फिर्ता लिन आग्रह गरे । ‘लगातार अन्तर्राष्ट्रिय असफलताका कारण लियोनल मेसीजस्ता खेलाडीले संन्यास लिए तर राष्ट्रको आवश्यकता र आग्रह स्विकार गरी फिर्ता गर्ने निर्णय लिए । यदि राष्ट्रलाई आवश्यकता परेको अवस्थामा पारसले पनि संन्यास फिर्ता लिनुपर्छ । यो मेरो आग्रह हो ।’

सदस्यसचिवको आग्रहअनुसार संन्यास फिर्ता सम्भव छ भन्ने प्रश्नमा पारसले प्रस्ट भाषामा इन्कार गरे । ‘सदस्यसचिव बन्नुभन्दा अगाडिदेखि नै रमेशसर मेरो अभिभावकजस्तै हुनुहुन्छ । उहाँले सधैं मेरा लागि राम्रो सोच्नुहुन्छ, पारसले भने, ‘तर क्रिकेटमा गर्नुपर्ने धेरै काम छन् । खेलाडीका रूपमा मात्र रहँदा त्यो सम्भव हुँदैनथ्यो । त्यसैले तत्कालका लागि पुनस् अन्तर्राष्ट्रिय खेलमा फर्किने सम्भावना छैन । उनले घरेलु क्रिकेट पनि खेल्ने नखेल्नेबारे निर्णय लिइ नसकेको बताए ।

पूर्वकप्तान पारसले संन्यास घोषणा छिटो भयो भनेर चिन्ता गर्नेहरूप्रति सम्मान व्यक्त गर्दै भने, ‘कप्तानबाट राजीनामा गर्दा पनि अझै २–३ वर्ष कप्तानी छाड्न हुँदैनथ्यो भनेर धेरै प्रतिक्रिया आएका थिए । अहिले संन्यास लिँदा पनि धेरैले यस्तै भन्नुभएको छ ।

पारसले क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) स्थापना गर्न लागेको जानकारीसमेत दिएका छन् । ‘यो सुविधा सम्पन्न क्रिकेट एकेडेमीको अवधारणा हो, हामी छिट्टै औपचारिक जानकारी गराउने छौं, पारसले आफूले स्थापना गर्न लागेको यही एकेडेमीसँग सहकार्य गर्ने गरी कसमस कलेजको सद्भावना दूतका रूपमा सम्झौता गरेका हुन् ।

कसमस कलेजका अध्यक्ष लक्ष्मण पोखरेल र पारसले सम्झौतापत्रमा हस्ताक्षरसमेत गरे । व्यवस्थापन र इन्जिनियरिङ अध्यापन गराइने कसमसले शिक्षालाई खेलकुदसँग जोडेर सहकार्यका लागि पारसलाई ब्रान्ड एम्बासडर बनाइएको प्रस्ट पारेको छ ।

सम्झौताअनुसार पारसले स्थापना गर्ने एकेडेमीमा प्रशिक्षण गर्ने क्रिकेटरले नियमअनुसार कसमस कलेजमा अध्ययन गर्दा २५ देखि ५० प्रतिशतसम्म छात्रवृत्ति पाउनेछन् । एकेडेमीमार्फत राष्ट्रिय टोलीमा छनोट हुने खेलाडीले कसमस कलेजमा शतप्रतिशत छात्रवृत्ति पाउनेछन् । अन्तर्राष्ट्रिय करिअरबाट संन्यास लिएपछि पारस पहिलोपल्ट कुनै संस्थासँग ब्रान्ड एम्बासडरको रूपमा अनुबन्ध भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।