image

आम्दानीको स्रोत बन्यो, उजाड लेक

इलाम - नौ वर्ष अघि इलाम नगरपालिकास्थित साँखेजुङका देउकुमार राईलाई नयाँ काम गर्न मन लाग्यो । भर्खरै लाहुुरबाट फर्किएका देउकुमारलाई गाउँमै बसेर कृषिमा होमिन मन थियो । तर, के गर्ने पत्तो थिएन । साथीको सल्लाहमा लेक साइडमा जग्गा किन्ने सोचमा पुगे उनी । जडीबुटी खेतीको धेरै सम्भावना र पर्यटकीय क्षेत्र भएकाले देउकुमारले जिल्लाकै सन्दकपुर गाउँपालिकास्थित सुलुबुङको माइपातालमा जग्गा लिए । सुविधा खोज्दै आंैल (तल्लो क्षेत्र) र मधेश झर्नेको लहरमा एक्ला देउकुमार लेकको जग्गामा लगानी खन्याउँदै थिए । लेकको जग्गा, सबैतिर झाँडी नै झाँडी । त्यसबेला धेरैले उनको कामबाट अचम्मित थिए । त्यसबेला देउकुमारले ८० रोपनी जग्गा एकैचोटी लिएर जडीबुटी लगाए । प्रति रोपनी २० हजार रुपैयाँका दरले उनले जग्गा लिए ।

दुःखले फाडेर चिराइतो, लौठ सल्ला, सतु्वाखेती को बीउ लगाए । यही ठाउँमा अहिले ३० हजार हेवार्ड जातको किवी लगाइएको छ भने ग्रीन किवीको पनि चारदेखि पाँच हजार बिरुवा लगाइएको छ । पछिल्लो समय उनले दुई सय रोपनी जग्गा खरिद गरिसके । अहिले यही ठाउँमा उनले माइपोखरी हर्बल अर्गानिक एग्रिकल्चर फार्म प्रालि नामको कम्पनीमार्फत काम गरिरहेका छन् । यसैबाट उनले वार्षिक दुईदेखि तीन लाख आम्दानी गर्दै छन् । अहिले देउकुमार आपैmँलाई पनि विगतको त्यो पाखो सम्झँदा अचम्म लाग्छ । बहुत कष्ट गरेर बारी निकालिएको यो ठाउँमा आउँदा दिनमा धेरै जडीबुटीखेती गर्ने उनकोे योजना छ । जडीबुटी मात्र होइन, पर्यटनमासमेत धेरै सम्भवना देख्छन् उनी यहाँ । ‘हाइकिङ’को विकास गर्न सक्दा धेरै फाइदा पुग्ने उनकोे भनाइ छ । यस्तै, नेपाल हर्बल उत्पादक संघका अध्यक्ष (अहिले निवर्तमान) गोविन्द घिमिरे पनि जडीबुटी अनुसन्धानका क्रममा ०६९ सालमा यही ठाउँमा आए । उनको अनुसन्धानका लागि केही समय बस्न मात्र यो ठाउँमा आएका थियो । तर, जडीबुटीको प्रशस्त सम्भावना देखेपछि यही कृषि कर्ममा रमाउन मन लाग्यो । तर, सम्भव थिएन ।

आफ्नो व्यक्तिगत काम छाडेर खेतीतर्फ लम्किँदा सबै काम डामाडोल हुने भयो । गएको कोरोना महामारीका बेला गोविन्दलाई पनि देउकुमारलाई जस्तै केही नयाँ काम गर्ने सोच आयो । लामो समयदेखि जडीबुटीकै क्षेत्रमा क्रियाशील भएकाले नयाँ सोच लिएर इलाम आए । यहाँ आएर सोधखोज गरेपछि उनीसहित चार जना मिलेर जग्गा लिए । प्रति रोपनी ७० हजारमा जग्गा किनेर उनीहरूले पनि अहिले कम्पनी दर्ता गरेका छन् । उनको पनि झाँडी फाँडेर जडीबुटीखेती गर्ने योजना छ । दुई जनालाई यही ठाउँमा खान÷बस्नसहित रोजगारी दिइएको छ । दैनिक २० देखि ३० जनाले ज्यालादारीमा रोजगारी पाएका छन् । गोविन्दले यहाँ सम्भावना भएका सात जडीबुटी प्राथमिकतामा राखेका छन् । टिम्मुर, चिराइतो, लौठ सल्ला, दाँते ओखर, किवी, सुगन्धवाल, जटामसी र सतुवा लगाउने सोचमा छन् उनी । तापक्रम र उचाइ मिलेकाले अन्य जडीबुटी पनि खेती हुने सम्भावना भएको उनलाई लागेको छ । यसका लागि हालसम्ममा १ सय २० रोपनी जग्गा किनिसकेका छन् । अझै केही जग्गा किन्ने सुरसारमा रहेको उनीहरूले बताए । गोविन्द र देउकुमार मात्र होइन, धेरैको आकर्षक क्षेत्र बनेको छ, माइपाताल ।

जडीबुटी, कृषि र पर्यटनका कारण यहाँ पुग्ने र जग्गा किन्नेको संख्या बढेको छ । कुनै बेला लेकको जग्गा भन्दै बेचेर औल झर्नेसमेत पछिल्लो समय फर्किदै आएका छन् । दैनिक पाँच देखि सात जना जग्गा किन्नकै लागि यहाँ आउने गरेको गाउँपालिकाका प्रवक्ता गिरिराज खनालदे बताए । पाँच वर्षअघिसम्म यहाँको जग्गाप्रति रोपनी १० हजारका दरले किनबेच हुन्थ्यो । तर, पछिल्लो समय जडीबुटी र पर्यटन जोडिएपछि झण्डै लाख रुपैयाँ रोपनीमा जग्गा किनबेच हुन थालेको छ । यसका लागि गाउँपालिकाले यही क्षेत्रमा रेडपाण्डा व्यवस्थित गर्न ७८ लाख रुपैयाँमा ठेक्का लगाएको छ । गाउँपालिकाले करिब दुइ सय रोपनी जग्गामा रेडपाण्डा व्यवस्थित गरिने भएको हो । गाउँपालिकाका प्रवक्ता खनालका अनुसार हाब्रे व्यवस्थापनका लागि हेरालुसमेत राखिने भएको छ । हाब्रे बस्ने वातावरण मिलाउन गाउँपालिकाले ठूला रुखसमेत काट्ने योजनामा छ ।

यति मात्र होइन, पछिल्लो समय कोरोना प्रतिरोधात्मक क्षमता बढाउने बुझेपछि त झनै यो क्षेत्रमा जडीबुटी खेतीकै लागि जग्गा किन्नेको ओइरो लागेको छ । इलामका तल्ला क्षेत्र, झापासाथै काठमाडाैंबाट समेत जग्गा खरीदका लागि मानिस यहाँ आउने गरेको स्थानीय युवराज पिसीले बताए । पहिलेदेखि नै केही मात्रामा यहाँ जडीबुटीखेती हुन्थ्यो । तर, किसानले भाउ नपाएकाले वैकल्पिकखेती गर्दै आएका थिए । स्थानीय तहमा प्रतिनिधि आएसँगै बाटो पुगेपछि किसान सचेत हुँदै गए । परम्परागत तवरले गरिँदै आएको खेती प्रणाली नै फेरेर काम गर्न थालेपछि यस क्षेत्रमा व्यापक रूपमा वनस्पतिखेती हुँदै आएको हो । अझैपनि स्थानीयले यसबारे त्यति धेरै थाहा नपाएकाले जानकारी गराउँदै लैजानु परेको इलामका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद सेढाइँले बताए ।

पछिल्लो समय यस क्षेत्रको प्रवद्र्धनका लागि जिल्ला वनस्पति कार्यालयले पनि यहाँ वनस्पति उद्यान केन्द्र निर्माण गरेको छ । केन्द्रले यसै क्षेत्रबाट ७० हजार औषधिजन्य वनस्पति र ३० हजार किवीको बिरुवा वितरण गर्ने जनाएको छ । केन्द्रका नर्सरीमा अहिले एक लाख पाँच हजार बिरुवा रहेका छन् । तीमध्येबाट एक लाख बिरुवा किसानलाई वितरण गर्ने केन्द्रले जनाएको छ । ‘हामीले कम्तीमा पनि एक लाख बिरुवा वितरण गर्छौं,’ केन्द्रका वैज्ञानिक अधिकृत जीवन पाण्डेले भने, ‘हामीले करीब एक लाख पाँच हजार बिरुवाको बीउ लगाएका छौं । कीरा लागेमा वा रोग लागेर पाँच हजार जति मरेपनि एक लाख बिरुवा बाँड््ने लक्ष्यमा छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।