image
image

कोरोनाको कहरका बीच ठमेलमा चारतारे होटल सञ्चालन

काठमाडौँ ३० साउन । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा कोरोनाको कहरका बीच रु दुई अर्ब ५० करोड लगानीमा चारतारे होटल सञ्चालनमा आएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि कोरोना सङ्क्रमण बढिरहेको बेलामा डालिया इभेष्टमेन्ट कम्पनी र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को लगानीमा ‘रमदा इन्कोर बाई वाईनहेम काठमाडौँ’ सञ्चालनमा आएको हो । उक्त होटल अमेरिकाको रमदा इन्कोरको पहिलो नेपाली चेन होटल हो । उक्त चारतारे होटल नेपाल भ्रमण वर्ष २०२० को शुरुआत्मा सञ्चालनमा ल्याउने गरी तयारी थालिए पनि कोरोनाका कारण एक वर्ष ढिला गरी सञ्चालनमा आएको हो । 


मध्यम वर्गदेखि उच्च घरानिया वर्गलाई लक्षित गरी सञ्चालनमा आएको उक्त होटल विश्वमा नौ हजार २०० भन्दा बढी रहेका छन् । रमदा इन्कोरको भारतमा ५२ र चीनमा एक हजार ४०० भन्दा बढी चेन होटल छन् । विश्वका ८० देशमा रमदा इन्कोर बाई वाईनहेमका तीनतारेदेखि पाँचतारे होटल सञ्चालनमा रहेका छन् । नेपाल घुम्न आउने ८० प्रतिशत विदेशी पर्यटक ठमेल घुम्न जाने गरेका छन् । 


होटलका सञ्चालक एवं डालिया इभेष्टमेन्ट कम्पनीका अध्यक्ष गोपाल पङ्गेनी भर्खरै सञ्चालनमा आएको रमदा होटल ठमेलमा अन्तर्राष्ट्रिय ब्राण्डको चेन होटल भएको बताउनुहुन्छ । “अहिले ठमेलमा सञ्चालनमा आएको रमदा होटल चाँडै नै चितवनको सौराहामा सञ्चालन गर्दैछौँ”, पङ्गेनी भन्छन् । काठमाडौँ महानगरपालिका–१६ ठमेलमा ९० कोठा रहेको उक्त नौ तले होटलभित्र दुईवटा रेष्टुराँ, स्पा, स्वीमिङ पुल, जिम हल र दुईवटा कन्फरेन्स हल रहेका छन् । होटलको छतबाट काठमाडौँ उपत्यकाको रमणीय वातावरण देख्न सकिन्छ । 


होटलका महाप्रबन्धक महेश फुयाँल रमदा होटलले दुईवटा रेष्टुराँमार्फत स्वदेशी तथा विदेशी पर्यटकलाई आफ्नो रुचिअनुसारको खानेकुरा प्रदान गर्दै आएको बताउछन् । “एउटा रेष्टुराँमार्फत स्पेनिस, अरविक, टर्किस, मोरक्कन र अर्को रेष्टुराँमार्फत पानेशियन र इण्डियनलगायतका खाना प्रदान गरेका छौँ”, उनी भन्छन् । 


रमदा होटलले क्याटरिङ र बैंकेट हल थप गरेर चाँडै नै पाँचतारे होटलमा जाने लक्ष्य राखिएको महाप्रबन्धक फुयाँलको भनाइ छ । निर्माण सम्पन्न भएर सञ्चालनमा आएका तारे होटलको सङ्ख्या नेपालमा १४३ पुगेको छ । यो मुलुकभर सञ्चालनमा आएका एकतारेदेखि पाँचतारे होटलको सङ्ख्या हो । पर्यटन विभागका सूचना अधिकारी मोहनबहादुर जिसीका अनुसार नेपालमा पाँचतारे १६, चारतारे १९, तीनतारे ३३, दुई तारे ४१ र एकतारे ३४ होटल सञ्चालनमा छन् । यस्तै पाँचतारे होटलस्तरका दुई बुटिकसमेत सञ्चालनमा छन् ।      

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे पनि कोरोना महामारी विश्वभर फैलिँदा नेपालमा भ्रमण वर्षको कार्यक्रम स्थगित गरिएको थियो । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको पहिलो तथा दोस्रो चरणको कोरोना सङ्क्रमण देखिँदा नेपाल भ्रमणका लागि आउने विदेशी पर्यटकको सङ्ख्यामा कमी आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।