image
image

बेनी अस्पतालमा इन्डोस्कोपी सेवा सुरु

काठमाडौँ २८ साउन ।ग्दीको बेनी अस्पतालमा बुधबारदेखि इन्डोस्कोपी सेवा सुरु भएको छ ।  स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत धवलागिरि गाउँपालिकाले विनियोजन गरेको रु ३० लाख बजेटबाट उपकरण खरिद र पूर्वाधार तयार पारेर उपचारका लागि अत्यावश्यक मानिने इन्डोस्कोपी सेवा सुरु गरिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।


प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाको सिफारिसमा गत आर्थिक वर्षमा धवलागिरि गाउँपालिकामार्फत बेनी अस्पतालको सेवा विस्तारका लागि सो बजेट विनियोजन भएको थियो । समितिका अध्यक्ष बेलबहादुर कटुवालले इन्डोस्कोपी सेवा सञ्चालनसँगै यसका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने बताए ।


“सीमित पूर्वाधार र जनशक्तिका बीच पनि अस्पतालको सेवा विस्तारलाई निरन्तरता दिएका छौँ”, उनले भने, “इन्डोस्कोपी सेवा सुरु भएपछि बिरामीको उपचार थप प्रभावकारी र सहज हुन्छ ।” यसअघि इन्डोस्कोपी गर्नुपर्ने बिरामीलाई पोखरा सिफारिस गरिँदै आएको थियो । इन्डोस्कोपी गर्दा शरीरमा पातलो नली राखेर शरीरभित्रका अङ्गमा परेको असरलाई क्यामेराको माध्यमबाट मोनिटरमा हेरी बिरामीको समस्या पहिचान गर्न सजिलो हुन्छ । गलाको समस्या, आन्द्रा सुन्निने, पित्तथैलीमा पत्थरी, पेटको अल्सर, दिसा पिसाबबाट रगत बग्ने, गर्भावस्थामा समस्या देखिए, शल्यक्रिया गर्नु अगाडि र अन्य समस्या देखिएमा इन्डोस्कोपी गरिन्छ । 


भिडियो एक्सरेबाट पत्ता लाग्न नसकेको समस्यालाई करिब पाँचदेखि १० मिनेट इन्डोस्कोपी गरेपछि आउने सूचनाका आधारमा चिकित्सकले उपचार प्रक्रिया अघि बढाउँछन् । विसं २०७२ मा १५ बाट ५० शय्या क्षमतामा स्तरोन्नति भएको बेनी अस्पतालले पछिल्ला केही वर्षयता उपकरण र उपचार सेवा थप गर्दै गएको छ । 


सघन उपचारकक्ष, डायलायसिस, शय्यामै पाइपबाट अक्सिजन आपूर्ति गर्ने सुविधासहितको अक्सिजन प्लान्ट स्थापना, आँखा उपचार, आफ्नै फार्मेसी, शल्यक्रियामार्फत गरिने प्रसूति सेवा उपलब्ध गराउँदै आएको छ । म्याग्दीका साथै पर्वत, बागलुङ र पर्वतका नागरिकले पनि बेनी अस्पतालबाट सेवा लिने गरेका छन् । 

५० शय्या क्षमताको सुविधासम्पन्न भवन निर्माणमा भएको ढिलाइले अस्पतालको सेवा प्रवाहमा कठिनाइ भएको छ । सीमित पूर्वाधारका बाबजुद पनि बेनी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले सुविधासम्पन्न सहरका अस्पतालले दिने सेवा पनि दिएका बताइन्छ ।
 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।