संघर्षले बनाएको यामकुमारीको पहिचान
काठमाडौँ - एउटा सङ्र्घषपछिको सफलताको कथा पढ्न लेख्नजति नै आनन्द लाग्छ उति नै सफलता प्राप्त गर्नका लागि गरेको त्याग, सङ्घर्ष र समर्पण सम्झन लायक हुन्छ। सङ्घर्षशील एकल महिलाले ढाका बुनाइमा पाएको सफलता निकै प्रेरणादायी बन्न सफल भएको छ। बागलुङ नगरपालिका– १० भकुण्डे घर भई हाल बागलुङ बजारको गुठीमा बस्दै आएकी यामकुमारी थापा हस्तकलामा व्यस्त छन्।
थापाले एकल जीवन बिताउन थालेको १९ वर्ष भयो। उनलाई पहिला अब यो एक्लै कसरी बस्न सक्छे? जिन्दगी लामो छ, एक्लै कटाउन सम्भव हुँदैन भन्ने मानिस धेरै थिए। यस्ता कुरा यामकुमारी सुनेर पनि नसुने झैँ गर्नुहुन्थ्यो। विवाह गरेको पाँच वर्षमा श्रीमानको वैदेशिक रोजगारीका लागि मलेशिया जाने भन्दै काठमाडौं गएर राहदानी बनाएर फर्किंने क्रममा गाडी दुर्घटना भएर त्रिशूली नदीमा परेर मृत्यु भयो। श्रीमानको मृत्युपछि उनको थप संघर्ष र दुःखका दिन शुरु भए। बिहान बेलुका छाक टार्न मात्र होइन, श्रीमानले चिनो छाडेर गएको छोरालाई हुर्काउन, बढाउन, पढाउन र समाजमा आफ्नो नाम स्थापित गर्नका लागि उनलाई ठूलो चुनौती भयो।
‘अहिले त हाम्रो समाजमा एकल महिलालाई हेर्ने दृष्टिकोण परिर्वतन भएको छैन, भने आजभन्दा १९ वर्ष पहिले झन् कस्तो हुँदो हो ? हामीले अनुमान लगाउन सक्दछौँ’, यामकुमारीले भनिन्, ‘उहाँ जस्ता एकल महिला हाम्रो समाजको चुनौती, अप्ठ्यारा, कुरीति र कुसंस्कारकै जालोभित्र जेलिएर कैयौँ महिलाको नाम यो समाजमा यसै मेटिन्छन्।’ एकल महिलाकै उपमा बीच यामकुमारी आफूलाई घरपरिवार र छिमेकमा मात्र होइन, देशकै उत्कृष्ट उद्यमी महिलाका रुपमा आफूलाई परिचित गराउन सफल भइन्।
श्रीमानको मृत्यु भएको एक वर्षपछि काखको बच्चा च्यापेर बागलुङ बजार झरेकी उनलाई कहाँ बस्ने, के गर्ने, के खाने भन्ने केही बाटो थिएन। सामान्य शिक्षा पनि आर्जन नगरेकी उनलाई कसले दिने जागिर? श्रीमानले नै छाडेर गएको चिनो औंठी रू आठ हजारमा बेचेर उनका बुवाले पेन्सन क्याम्पमा सिलाइकटाइको तालिम लिने व्यवस्थापन गरिदिएका थिए। त्यही तालिमले उनको जिन्दगीको बाटोले फरक मोड लियो।
‘अरूको पसलमा काम गर्नुभन्दा सानोतिनो आफ्नै व्यापार शुरु गर्छु भनेर झोला बनाउने र रक्सी पारेर आफ्नो गुजारा चलाउन थालेको उनले बताए। झोला बुन्दा बुन्दै २०६६ सालमा घरेलुमा आधारभूत ढाका बुनाइ तालिम सञ्चालन हुँदैछ भन्ने खबर सुन्दा निकै उत्साहित भएर सहभागी भएको उनले स्मरण गरिन्। घरेलु तथा साना उद्योग कार्यालयमा गएर पनि ढाका बुनाइको तालिम दिन अनुरोध गरेर ४५ दिने तालिम लिएर आफ्नै पसल शुरु गरेको उनले बताइन्।
‘माइतमा पनि म जेठी छोरी थिए, मभन्दा दुई भाइ र दुइ बहिनी थिए, बुबा आमालाई आफ्नै समस्या थियो, त्यस कारणले मैले सोचेँ अब आफ्नै पसल खोल्ने’, उनले भनिन्, ‘झोला र रक्सी बेचेर जम्मा गरेको पैसा ढुकुटी खेलेको थिए।’ ढुकुटी बुझेर चार लाखको लगानी गरेर १३ हजारमा ढाकाको साडी बुन्ने तान किनेर बागलुङ बजारमै पहिलो ढाकाको कपडा पसल सौगात कोसेली घर सञ्चालनमा ल्याएको उनले बताइन्।
बागलुङ बजारमै ढाकाको कपडा बुन्ने धागो बेच्ने पहिलो व्यापारी आफू नै भएको यामकुमारीको भनाइ छ। ‘आफूमा सीप भएपछि कसैको अगाडि हात फैलाउनुपर्ने रहेनछ भन्ने मैले बुझिसकेको थिएँ, घरेलुले मलाई र मेरो बच्चालाई बाच्ने आधार दिएको थियो, मैले अहिलेसम्मपछि फर्केर हेर्नु परेको छैन’, उन थपिन्।
अहिले उनीसँग ६ वटा ढाकाको कपडा बनाउने तान छन्। दुई तान घरेलुले आधा मूल्यमा दिएको हो। यामकुमारीले नेपालमा मात्र नभएर अमेरिका, जापान, हङ्कङमा ढाकाको साडी, ढाकाको कुर्ता, ढाकाको दौरा सुरुवाल, ढाकाको सल, झोला, पर्स, चुत्ता बिक्री गर्दै आएकी छन्। सिजनमा महिनाकै एक लाखदेखि एक लाख ६० हजारसम्मको सामान बिक्री गर्ने गरेको उनको भनाइ छ। ‘कोरोना महामारीमा पनि अर्डर आइराखेको छ, मैले कोरोना महामारीभन्दा पहिला चार महिलालाई रोजगारी पनि दिएको थिए, अहिले कोही हुनुहुन्न, अब कामदार राख्ने सोचमा छु’, उनले भनिन्।
छोरालाई पढाउँदै आफ्नो सीपलाई थप गर्नका लागि घरेलुमा निरन्तर तालिम लिएको उनले बताइन्। घरेलुले सीप सिकाएकै कारण २०७५ सालमा उद्यमशीलताको प्रदर्शनीमार्फत आत्मनिर्भर भएको भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाली महिला उद्यमीको सम्मानपत्र र २० हजार दिएको उनले बताइन्।
‘सम्मानपत्र पाएपछि थप ऊर्जा मिल्यो, आफूले तालिम लिएर दक्ष भएपछि देशका विभिन्न स्थानमा गएर ३०० भन्दाबढी महिलालाई तालिमसमेत दिएको छु, म जस्ता अन्य महिलालाई किताबी ज्ञान नभएकै कारण हेपिन नपरोस्, महिला भएकै कारण पछाडि पर्न नपरोस् भनेर आफू जति व्यस्त भए पनि समय व्यवस्थापन गरेर तालिम दिने गरेको छु,’ उनले भनिन्।
अहिले ढाकाका कपडा बुन्ने र बिक्री गर्ने व्यापारमा महिला दिदीबहिनीको आकर्षण बढेको थापा बताउँछिन्। एक साडीकै १४ देखि १८ हजारसम्म पर्ने भएकाले यो व्यवसाय गर्न सीप हुने हो भने कमाउन धेरै समय नलाग्ने उनी बताउँछिन्। ‘अहिले पसलमा ढाकाका कपडादेखि लिएर हाम्रै गाउँघरमा उत्पादन भएको स्थानीय मह, सिस्नोको धुलो र ताराखेलाको चिउरीको हर्बल साबुन बिक्री गर्दै आएको छु’, उनले भनिन्।
अहिले ६ देखि सात सालसम्मको सामान यामकुमारीको पसलमा छ। बागलुङ बजारमा ससुराले घडेरी किनिदिएर सगारीयामा घर बनाएको उनले बताइन्। अहिले भइरहेको पसललाई थप व्यवस्थापन गरेर अझै राम्रो बनाउने उनको लक्ष्य छ।
बागलुङ बजारकै नमूना ढाकाको कपडा पसल बनाउने अबको उनको योजना छ। पसललाई थप व्यवस्थित पारेर महिलाका लागि तालिम दिनका लागि राम्रो तालिम कक्ष पनि बनाउने चाहाना यामकुमारीको छ।