image
image

चुरे संरक्षणमा चुनौती बन्दै क्रसर उद्योग

काठमाडौँ  १४ असार । मापदण्ड विपरित खुलेका क्रसर उद्योगका कारण चुरे क्षेत्रको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ ।  वन, वनस्पतिलगायत जैविक विविधताका दृष्टिकोणले समृद्ध मानिने चुरे शृंखलाबाट बगिने नदीनालाको अत्यधिक दोहन तथा ढुंगा, गिट्टी, बालुवाको वैध÷अवैध रूपमा उत्खनन तथा सङ्कलन गर्ने काम बढ्दै गएकाले चुरे क्षेत्रको संरक्षण चुनौतीपूर्ण बन्दै गएको हो । 


समुन्द्री सतहदेखि ६१० मिटर उचाइबाट शुरु भएर १८७२ मिटर उचाइसम्म फैलिएको भू–क्षेत्रलाई चुरे क्षेत्र भनिन्छ । चुरे क्षेत्र जैविक र प्राकृतिक दृष्टिकोणबाट अति नै महत्वपूर्ण र उपयोगी क्षेत्र हो । हावापानी समशितोष्ण किसिमको भएकै कारण यहाँ विभिन्न प्रजातिको वन्यजन्तु पाइन्छन् । यहाँ साल, सिसौं, खयर, अमला, हर्रो, बर्रोजस्ता औषधिजन्य बहुउपयोगी बिरुवा पनि प्रशस्त पाइन्छ ।


चुरे जैविक विविधता तथा प्राकृतिक सम्पदाको कमजोर भू—बनोटका कारण चुरे वनलाई एक संवेदनशील क्षेत्रको रुपमा लिने गरिन्छ । यो भौगोलिक, प्राकृतिक र जैविकलगायत सम्पूर्ण क्षेत्रबाट बहुउपयोगी मानिन्छ । तराईको उर्वर भूमिलाई सिंचित गर्नका लागि पानीको मूल श्रोतको रुपमा रहेको चुरे वन क्षेत्र नेपालको ठूलो जनसङ्ख्याको जनजिविकाको मुख्य आधार स्रोत हो । 


बढ्दो जनघनत्वका कारण वन पैदावारमा अत्यधिक चाप रहेकाले चुरे वन विनाश बढेको छ । क्षयीकरणले पर्यावरणीय समस्यासमेत देखा पर्न थालेको छ । बेलैमा सतर्कता नअपनाइए प्रदेश नं २ ले पर्यावरणीय सङ्कट झेल्नुपर्ने अवस्था आउन सक्ने विज्ञको चेतावनी छ । सरकारले चुरे संरक्षणका लागि लाखौं रुपैयाँ खर्च गर्ने गरेको भए पनि वन जङ्गल र खोला किनारमा अवैध रुपमा खुल्ने गरेका क्रसर उद्योगका कारण चुरे संरक्षणमा चुनौती बन्दै गएका छन् ।

धनुषा र महोत्तरीको सिमानामा रहेको रातु खोला किनारमा मात्रै वरिपरि गरी ५ वटा क्रसर उद्योग अवैध रूपमा सञ्चालनमा छन् । अवैध रुपमा बालुवा, गिट्टी उठाउने गरेका कारण वनजंगल विनास भइरहेको छ । सरोकारवाला निकाय यसलाई रोक्नका लागि गम्भीर नदेखिएका कारण समस्या झन बढ्दै गएको छ । वन विनास अत्यधिक रुपमा बढेको छ भने क्रसर उद्योगले जथाभावी रुपमा नदीबाट बालुवा, गिट्टी निकाल्ने गरेका छन् । क्रसर उद्योगका कारण तटबन्ध जोखिममा परेको छ । रोक्नुपर्ने निकायले नै ती उद्योगसँग लाभ लिँदा समस्या देखिएको हो । किसाननगरका रीता भट्टराईले खोला किनारमा रहेको क्रसरले बालुवा लिएर जाँदा आफ्नो घरमा समेत बालुवा पसेको बताइन् । उनले भनिन्, “राति राति बालुवा ओसार्दा हैरान भएको छु । जथाभावी बालुवा झिक्दा तटबन्ध नै भत्किने खतरा बढेको छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।