image
image

अक्सिजनको अभावले संक्रमित सुत्केरीको मृत्यु

काठमाडौँ। १४, शुक्रबार । तनहुँ, भानुकी २५ वर्षीया गर्भवतीलाई गत शुक्रबार दिउँसोदेखि नै सुत्केरी व्यथा लागेको थियो।श्रीमान र उनका भाञ्जाले त्यही दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याएका थिए। अस्पतालमा पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट कोरोना पोजेटिभ आयो।व्यथाले नछाडेका कारण चिकित्सकले त्यही रात अपरेसन गरेर सुत्केरी गराए। आफन्तले नवजात शिशुलाई घर लगे।

सुत्केरी आमालाई आइसोलेसनमा राखियो। आइसोलेसन बस्दा डाक्टरले उनलाई हाइफ्लो अक्सिजन दिइरहेको थियो।सुत्केरीका भाञ्जाका अनुसार जन्मिएको ४४ घण्टापछि नवजात शिशुको पनि पिसिआर परीक्षण गरियो। शिशुको रिपोर्ट भने नेगेटिभ आयो।उनका अनुसार अहिले पनि बच्चाको स्वास्थ्य राम्रो छ। आमासँग राख्न नमिलेका कारण पाउडर दूध खुवाएर राखेको भाञ्जाले बताए।

‘बच्चा अहिले हामीसँगै अस्पतालमा छ, आमाको दूध खुवाउन पाइएन, पाउडर दूध खुवाएर राखेका छौं,’ उनले भने।उता, सुत्केरी आमालाई भने श्वास फेर्न गाह्रो हुँदै गइराखेको थियो।
अस्पतालले अचानक बिहीबार रातीदेखि अक्सिजनको अभाव भएको जानकारी बिरामी र तिनका आफन्तलाई दियो।

सुत्केरीका भाञ्जा र अरू कुरुवा राति १० बजेतिर नजिकै रहेको पोखरा औद्योगिक क्षेत्र पुगे।पोखरा अक्सिजन र कालीगण्डकी अक्सिजन उद्योग गए। त्यहाँ पुगेर बुझ्दा उद्योगका कर्मचारीले अस्पतालमा नियमित अक्सिजन पठाएको बतायो। यता, हाइफ्लोमा अक्सिजन दिनु परेका बिरामीले भने अक्सिजन पाएका थिएनन्।

अस्पतालमा अक्सिजन नपाइएपछि सुत्केरीका आफन्तले अक्सिजन खोज्न बाहिर हारगुहार गरे। आफन्त र चिनेरजानेकाहरू सबैलाई अक्सिजनको व्यवस्था गरिदिन बिन्ती बिसाए। तर कहीं पनि अक्सिजन पाएनन्।अक्सिजन खोज्दै जाँदा सुत्केरीका भाञ्जाले साथीहरूमार्फत् हिमाल आरोहण गर्दा प्रयोग गरिने अक्सिजन सिलिन्डर खोज्न थाले।आरोहीले बोक्ने सानो सिलिन्डर भए पनि एकछिन श्वास फेर्न पुग्छ भनेर संक्रमितका भाञ्जाले साथीहरूलाई लिन पठाए।

अक्सिजन नपाएर जीवन–मरणको दोसाँधमा पुगेकी सुत्केरीले अन्ततः राति साढे १० बजे अन्तिम श्वास फेरिन्।सुत्केरीको ज्यान गएको १५ मिनेटपछि पोखरा अक्सिजन उद्योगबाट भरिएका अक्सिजन सिलिन्डर आयो । ‘अक्सिजन आउन १५ मिनेट ढिलो हुँदा माइजुको ज्यान गयो,’भान्जाले भने , सुत्केरीका श्रीमान भने केही बोल्न सक्ने अवस्थामा छैनन्।

 यसरी ज्यान गुमाउनेमा तनहुँका तीन जना, पोखरा, स्याङ्जा, पर्वत र म्याग्दीका एक(एक जना बिरामी रहेको कोरोना संक्रमितको उपचारमा खटिएका डाक्टर शरदचन्द्र बरालले बताए।हाइफ्लोमा अक्सिजन दिनुपर्ने बिरामीलाई पाँच मिनेटमात्रै अक्सिजनको मात्रा कम हुँदा बिरामीलाई संकट पर्ने उनले बताए। हाइफ्लोमा अक्सिजन दिँदा बिरामीलाई प्रतिमिनेट ६० देखि ८० लिटर अक्सिजन खपत हुने डाक्टर बरालले बताए।

अस्पतालका अक्सिजन फोकल पर्सन बिमल बरालले अक्सिजन उद्योगबाट उत्पादन कम भएका कारण पर्याप्त अक्सिजन नपाएको बताए। ‘हाम्रो माग भन्दा कम अक्सिजन उत्पादन भएछ, उद्योगमा हिजो केहीबेर लाइन गएछ,’ उनले भने, ‘त्यही भएर हामीले माग गरे जति अक्सिजन पाइएन।’ उनका अनुसार अस्पालमा अझै पनि अक्सिजनको अभाव भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।