image
image

बालबालिकामा कोरोना संक्रमण दर बढ्दो क्रममा

काठमाडौँ, १४, शुक्रबार ।  कोरोना भाइरस महामारीको दोस्रो लहरमा संक्रमणको दर बालबालिकामा बढ्दै गएको छ । राष्ट्रिय बालअधिकार परिषद्का अनुसार अघिल्लो कोरोना लहरमा कुल संक्रमितमध्ये बालबालिका ७ प्रतिशत हाराहारी रहेकामा पछिल्लो कोरोना लहरमा औसत १० प्रतिशत छन् ।बिहीबार पुष्टि भएका कुल संक्रमितमध्ये ६ सय ६ जना संक्रमित १८ वर्षभन्दा मुनिका छन् । बुधबार पुष्टि भएका कुल संक्रमितमा १८ वर्षमुनिका बालबालिकाको संख्या ८ दशमलव ४ प्रतिशत छ । यो संख्या मंगलबार १०.३८ प्रतिशत थियो ।

परिषद्का अनुसार पछिल्ला दिनमा नयाँ संक्रमित बालबालिकाको संख्या ५ सयभन्दा धेरै हुने गरेको छ । बुधबार पुष्टि भएका ६ हजार ७ सय १४ संक्रमितमध्ये ५ सय ४० जना बालबालिका मात्रै थिए ।  कोरोना संक्रमणको चपेटामा ११ देखि १८ वर्षसम्मका बालबालिका बढी देखिन्छन् । कोरोना संक्रमणको मारमा ५ वर्षमुनिका बालबालिका पनि परिरहेका छन् । बिहीबार ५ वर्षमुनिका मात्रै ४० बालक र ३३ बालिका संक्रमित भए । यो संख्या कुल संक्रमित बालबालिकाको १२ प्रतिशत हो । बुधबार कुल संक्रमित बालबालिकामध्ये ५ वर्षमुनिका ३५ बालक र २५ बालिका थिए । यो संख्या कुल संक्रमित बालबालिकाको ११ प्रतिशत हो ।

बिहीबार ६ देखि १० वर्षसम्म उमेरका ९४ बालक र ४६ बालिकाका साथै ११ देखि १८ वर्षसम्म उमेरका २ सय ३८ बालक र १ सय ५५ बालिका संक्रमित भएका छन् । बुधबार भने ६ देखि १० वर्षसम्मका ७५ बालक र ५० बालिका र ११ देखि १८ वर्षसम्मका २ सय ८ बालक र १ सय ४७ बालिका संक्रमित भए । बालबालिकासम्बन्धी ऐनले १८ वर्ष पूरा नगरेकालाई बालबालिका भनेर परिभाषित गरेको छ ।

परिषद्का अनुसार जेठ २ देखि ७ गतेसम्ममा मात्रै ५ हजार ६ सय ९५ बालबालिका संक्रमित भएका थिए । यसले दिनमा औसत ९ सयभन्दा धेरै बालबालिका संक्रमित हुने गरेको देखाउँछ । संक्रमणको दर सबैभन्दा धेरै वाग्मती प्रदेशमा छ । बुधबार संक्रमण भएका बालबालिकामध्ये वाग्मतीका २ सय २३ जना अर्थात् कुल संक्रमितमध्ये ४१ प्रतिशत छन् । त्यस्तै प्रदेश १ का ८३, प्रदेश २ का २९, गण्डकीका १ सय ३, लुम्बिनीका ५६, कर्णालीका २२ र सुदूरपश्चिमका २१ जनामा त्यस दिन संक्रमण देखिएको थियो ।

परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलका अनुसार परिवारका सबै सदस्य संक्रमित हुने दर बढेसँगै बालबालिकामा संक्रमण देखिएको हो । परिषद्ले कोराना संक्रमणका कारण मृत्युदर बढिरहेको र त्यसको सोझो असर बालबालिकामा परेको निष्कर्ष निकालेको छ । कार्यकारी निर्देशक धरेलले पछिल्लो लहरमा संक्रमणका कारण १ हजारदेखि १२ सय बालबालिकाले बाबु वा आमा अथवा बाबुआमा दुवै गुमाउने प्रक्षेपण परिषद्ले गरेको बताए ।

उनले भने, ‘कोरोना संक्रमणको बढ्दो मृत्युदरका कारण बालबालिका अभिभावकविहीन बन्ने सम्भावनालाई देखेरै परिषद्ले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत देशैभरिका स्थानीय तहबाट यससम्बन्धी तथ्यांक संकलन गर्ने र तिनीहरूलाई आश्रय दिने कार्यक्रम सुरु गर्न पहल गरेको छ ।’ चिकित्सकहरूले बालबालिकामा हुने संक्रण घटाउन घर बाहिर निस्कने व्यक्तिले उनीहरूसँग घुलमिल कम गर्नुपर्ने सुझाव दिँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।