तिहार मनाउन आर्थिक सहयोग जुटाउँदै पाल्पा पुगे राउटे समुदाय
कार्तिक २१। नेपालको लोपोन्मुख आदिवासी समुदायका रूपमा रहेको राउटे समुदायका पाँच जना सदस्य तिहार मनाउन आवश्यक खर्च जुटाउने उद्देश्यले पाल्पा पुगेका छन्। कर्णाली प्रदेशको सुर्खेतमा बसोबास गर्दै आएका उनीहरू तानसेन बजारमा आफ्नै हातले निर्माण गरेका काठका सामग्री बिक्री गर्दै आर्थिक सहयोग संकलनमा जुटेका हुन्।
उनीहरूले पिर्का, आरी, कोसी, ठेकीलगायत परम्परागत सीपबाट बनाइएका सामग्री बिक्री गरिरहेका छन्। समुदायका सदस्य बन्दवीर शाहीका अनुसार पहिले जंगलका रुखबाट काठका सामग्री बनाएर बिक्री गरी जीविकोपार्जन गर्ने गरिएको थियो। तर पछिल्लो समय जंगलमा रुख काट्न सहज नभएपछि परम्परागत पेसाबाट आम्दानी गर्न कठिन भएको छ।
दसैँ पनि यसैगरी सहयोग जुटाएर मनाएको बताउँदै उनीहरूले तिहारमा समुदायका अन्य सदस्यसँग रमाइलो गर्न र मिठोमसिनो खान केही रकम जुटाउने आशा राखेका छन्। तानसेन बजारमा उनीहरूले बनाएका काठका सामग्रीप्रति स्थानीयवासीले पनि चासो देखाएका छन्। पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्परागत सीप जोगाउँदै आएका राउटे समुदायको यो अवस्थाले उनीहरूको जीविकोपार्जन र सांस्कृतिक संरक्षणबारे पुनः बहस सिर्जना गरेको छ।









