image
image
दशैं सुरक्षाका लागि ३२ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन

दशैं सुरक्षाका लागि ३२ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन

असोज २७ — नेपालीहरूको महान् चाड बडादशैं, तिहार र छठलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल, नेपालले देशभर विशेष सुरक्षा योजना लागू गरेको छ। चाडपर्वका समयमा हुन सक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न, नागरिकको सुरक्षा सुनिश्चित गर्न तथा विपद्का घटनामा तत्काल उद्धार गर्न ठूलो सङ्ख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको हो।

सशस्त्र प्रहरी बलका अनुसार ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ असोज २२ गतेदेखि कार्यान्वयनमा आएको छ। योजनाअन्तर्गत देशभर २८ हजार १२६ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ भने थप ४ हजार ५०० जनालाई आवश्यक परेको अवस्थामा तत्काल खटाउन सकिने गरी तयारी अवस्थामा राखिएको छ। परिचालित र तयारी अवस्थामा रहेका जनशक्ति जोड्दा कुल सङ्ख्या ३२ हजार ६२६ पुग्छ।

चाडपर्वको समयमा नागरिकको आवागमन बढ्ने, बजारमा भीडभाड हुने तथा सीमावर्ती क्षेत्रमा अवैध गतिविधिको जोखिम रहन सक्ने भएकाले सुरक्षा निगरानी बढाइएको सशस्त्र प्रहरीले जनाएको छ। सीमा सुरक्षा, सार्वजनिक सम्पत्ति तथा महत्त्वपूर्ण संरचनाको संरक्षण, विपद् व्यवस्थापन र आपत्कालीन उद्धारलाई योजनाको प्राथमिकतामा राखिएको छ।

सुरक्षा व्यवस्थालाई नागरिकमैत्री बनाउन देशभर १४१ वटा नागरिक सहायता कक्ष, १६ वटा स्वास्थ्य सहायता कक्ष र १३ वटा पर्यटक सहायता कक्ष स्थापना गरिएको छ। यस्ता सहायता कक्षबाट यात्रु, पर्यटक तथा समस्यामा परेका नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने लक्ष्य राखिएको छ।

त्यसैगरी, मुख्य राजमार्गमा हुन सक्ने दुर्घटना तथा अन्य आपत्कालीन घटनामा तत्काल उद्धार गर्न ३७ स्थानमा एम्बुलेन्ससहितका उद्धार टोली परिचालन गरिएको छ। ठूलो सङ्ख्यामा घाइते हुने घटनामा उद्धार कार्य सहज बनाउन १६ स्थानमा धेरै घाइतेलाई एकैपटक ओसारपसार गर्न सक्ने सवारीसाधनसमेत तयारी अवस्थामा राखिएको छ।

सीमावर्ती क्षेत्रमा सुरक्षा प्रभावकारी बनाउन संयुक्त गस्ती, चेकपोइन्ट तथा पैदल र मोबाइल गस्ती बढाइएको छ। झापाको काँकडभिट्टा, पर्साको वीरगञ्ज, रुपन्देहीको बेलहिया र बाँकेको जमुनाह नाकामा अवैध हातहतियार, विस्फोटक पदार्थ तथा लागूऔषध पहिचान गर्न तालिमप्राप्त कुकुरसहितका टोली परिचालन गरिएको छ।

सुरक्षा निगरानीमा आधुनिक प्रविधिको प्रयोगलाई समेत प्राथमिकता दिइएको छ। संवेदनशील स्थानको निगरानीका लागि आवश्यकताअनुसार २१ वटा ड्रोन प्रयोग गरिने तथा सीमावर्ती नाकाका महत्त्वपूर्ण स्थानमा जडान गरिएका ४१२ वटा सीसीटीभी क्यामेरामार्फत २४ सै घण्टा निगरानी गरिने सशस्त्र प्रहरीले जनाएको छ।

चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, ठगी, अवैध ओसारपसार तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्नुका साथै विपद्मा परेका नागरिकको उद्धार र यात्रुको सुरक्षित आवागमन सुनिश्चित गर्ने उद्देश्यले सुरक्षा योजना लागू गरिएको हो।

सशस्त्र प्रहरीले कुनै पनि आपत्कालीन अवस्थामा सहयोग आवश्यक परे टोल फ्री नम्बर १११४ मा सम्पर्क गर्न नागरिकलाई आग्रह गरेको छ। 

चाडपर्वलाई सुरक्षित, शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षाकर्मीको परिचालनसँगै नागरिकको सचेतना र सहयोग पनि महत्त्वपूर्ण हुने भएकाले शङ्कास्पद गतिविधि देखिएमा सम्बन्धित सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।