सरकारले ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ स्थापना गर्ने
असोज १६। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिकको ज्ञान, सीप र जीवन अनुभवलाई संरक्षण गरी नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ स्थापना गर्ने घोषणा गरेको छ। ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा मन्त्रालयले यस्तो नयाँ अवधारणा सार्वजनिक गरेको हो।
मन्त्रालयका अनुसार ज्येष्ठ नागरिकसँग रहेको लामो समयको कार्यअनुभव, व्यावहारिक ज्ञान, सीप तथा जीवनबाट प्राप्त अनुभव समाजका लागि महत्वपूर्ण सम्पत्ति हुन्। ती अनुभवलाई व्यवस्थित रूपमा अभिलेखीकरण तथा उपयोग गर्न सके नयाँ पुस्ताले विभिन्न क्षेत्रमा प्रत्यक्ष लाभ लिन सक्ने अपेक्षा गरिएको छ।
प्रस्तावित अनुभव बैंकमार्फत ज्येष्ठ नागरिकका ज्ञान, सीप, पेशागत अनुभव तथा जीवनका महत्वपूर्ण सिकाइलाई संकलन र अभिलेखीकरण गरिने अवधारणा अघि सारिएको छ। आवश्यकता र रुचिअनुसार सम्बन्धित क्षेत्रका ज्येष्ठ नागरिकलाई युवा पुस्ता, विद्यार्थी तथा विभिन्न संस्थासँग जोड्ने योजना पनि अघि बढाइने बताइएको छ।
मन्त्रालयले ज्येष्ठ नागरिकलाई केवल सामाजिक सुरक्षा र हेरचाह आवश्यक पर्ने समूहका रूपमा मात्र नभई समाजको ज्ञान र अनुभवका स्रोतका रूपमा स्थापित गर्ने उद्देश्यले यो अवधारणा अघि सारेको जनाएको छ। अनुभव पुस्तान्तरणमार्फत पुस्ताबीचको सम्बन्ध थप बलियो बनाउने तथा ज्येष्ठ नागरिकको सामाजिक सहभागिता बढाउने अपेक्षा गरिएको छ।









