काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् कटौती हुने, असोज १५ देखि २६ गतेसम्म प्रभावित
असोज १५। भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालन तथा प्राविधिक कामका कारण काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार अक्टोबर १ देखि १२ सम्म कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा निर्धारित समयमा विद्युत् आपूर्ति बन्द गरिनेछ।
प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा सामान्यतः बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् कटौती हुनेछ। आज अक्टोबर १ मा सतुंगल–बौथली क्षेत्रमा, अक्टोबर २ मा मच्छेगाउँ–दोभान चोक तथा खुसी चोक क्षेत्रमा, अक्टोबर ३ मा मूलपानी, अक्टोबर ४ मा गुर्जुधारा क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुने तालिका छ। त्यसैगरी अक्टोबर ६ मा पुनः मूलपानी, ७ मा बलम्बु, ८ मा कोटेश्वर–बालकुमारी, ९/१० मा सिफल, ११ मा सतुंगल–धौलागिरि हाउजिङ र १२ मा धोबीखोला क्षेत्रमा काम हुने जनाइएको छ।
काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, व्यवस्थित र स्वचालित बनाउने दीर्घकालीन योजनाअन्तर्गत ३३ केभी, ११ केभी र ४०० भोल्टका विद्युत् लाइन भूमिगत गर्ने तथा अप्टिकल फाइबरसमेत जडान गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ। यसबाट विद्युत् आपूर्ति थप भरपर्दो र सुरक्षित बनाउनुका साथै सडक तथा शहरी क्षेत्रमा अस्तव्यस्त देखिने तार व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। मौसम प्रतिकूल भएमा निर्धारित विद्युत् कटौतीको तालिका परिवर्तन वा स्थगित हुन सक्ने प्राधिकरणले जनाएको छ।









