नेपाल–चीन हवाई सम्पर्कमा नयाँ अध्याय, काठमाडौं–हाङ्झाउ सिधा उडान आजदेखि
असोज १४। नेपाल र चीनबीचको हवाई सम्पर्क थप विस्तार हुँदै हिमालय एयरलाइन्सले आज, सेप्टेम्बर ३० देखि काठमाडौं–हाङ्झाउ सिधा नियमित उडान सुरु गर्दैछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हाङ्झाउको सियाओसान अन्तर्राष्ट्रिय विमानस्थलसम्म सञ्चालन हुने यो उडानले नेपाललाई चीनको महत्वपूर्ण सांस्कृतिक तथा आर्थिक केन्द्रसँग प्रत्यक्ष जोड्नेछ। हिमालय एयरलाइन्सका अनुसार यो रुटमा सिधा नियमित व्यावसायिक उडान सञ्चालन गर्ने आफू पहिलो तथा एकमात्र एयरलाइन्स हुनेछ।
सुरुआती चरणमा सातामा दुईवटा उडान सञ्चालन हुनेछन्। काठमाडौं–हाङ्झाउ उडान बुधबार र आइतबार तथा हाङ्झाउ–काठमाडौं फर्कने उडान सोमबार र बिहीबार सञ्चालन हुनेछ। पहिलो उडान H9 225 आज साँझ ५ः१५ बजे काठमाडौंबाट प्रस्थान गरी स्थानीय समयअनुसार भोलिपल्ट बिहान १ः०५ बजे हाङ्झाउ पुग्ने तालिका छ।
हाङ्झाउ चीनको झेजियाङ प्रान्तको राजधानी हो र वेस्ट लेकसहित तीनवटा UNESCO विश्व सम्पदा क्षेत्रका कारण पनि प्रसिद्ध छ। नयाँ सिधा उडानले नेपाल–चीनबीच पर्यटन, व्यापार, विद्यार्थी आवागमन तथा सांस्कृतिक आदानप्रदानलाई थप सहज बनाउने अपेक्षा गरिएको छ। यात्रुको माग र उडानको व्यावसायिक अवस्थाका आधारमा भविष्यमा उडान संख्या बढाउन सकिने हिमालय एयरलाइन्सले जनाएको छ।









