बालेनको कालो चस्माबारे ‘द न्युयोर्क टाइम्स’मा सामग्री
असोज ९। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघ महासभामा सम्बोधन गर्दा लगाएको कालो चस्माबारे ‘द न्युयोर्क टाइम्स’ले सामग्री प्रकाशित गरेको छ। सेप्टेम्बर २४ मा प्रकाशित सामग्रीमा र्यापरका रूपमा सार्वजनिक जीवन सुरु गर्दादेखि काठमाडौंको मेयर हुँदै प्रधानमन्त्री बनेसम्म शाहको कालो चस्मा उनको सार्वजनिक पहिचानको एउटा हिस्सा बनेको उल्लेख गरिएको छ।
सामग्रीमा प्रधानमन्त्री कार्यालयको भनाइ उद्धृत गर्दै, चिकित्सकको सल्लाहअनुसार कडा उज्यालोबाट आँखालाई जोगाउन शाहले चस्मा लगाउने गरेको उल्लेख छ। यससँगै उनको चस्मा व्यक्तिगत शैली र सार्वजनिक पहिचानसँग पनि जोडिएको विषय पत्रिकाले उठाएको छ।
‘द न्युयोर्क टाइम्स’ले नेपालमा शाहको चस्माको शैली पछ्याउँदै उस्तै प्रकारका कालो चस्मा बिक्री हुन थालेको विषयसमेत उल्लेख गरेको छ। राष्ट्रसंघ महासभाको सम्बोधनका क्रममा उनको पोसाक र चस्माले समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान खिचेको देखिन्छ।









