आइतबारको सार्वजनिक बिदा हटाउन प्रतिनिधिसभामा मौखिक प्रस्ताव
भाद्र ३०। सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारी निर्णयमाथि पुनर्विचार गर्न प्रतिनिधिसभामा माग गरिएको छ।
राप्रपा सांसद ताहिर अली भाटले मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गरी शनिबार मात्र साप्ताहिक बिदा कायम गर्न सरकारसँग माग गरेका हुन्।
सातामा दुई दिन बिदा दिँदा विशेषगरी शैक्षिक संस्थाको अध्ययन–अध्यापन प्रभावित भएको सांसद भाटको भनाइ छ। उनले आइतबारको बिदाले शैक्षिक संस्थासहित विभिन्न क्षेत्रमा नकारात्मक असर परेको दाबी गरे।
सरकारले गत चैत २२ गतेको मन्त्रिपरिषद् बैठकबाट इन्धन अभावलाई कारण देखाउँदै शनिबार र आइतबार गरी सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। उक्त निर्णय हाल कार्यान्वयनमा रहेको छ।
सांसद भाटले भने आइतबारको बिदा हटाएर यसअघि जस्तै शनिबार एक दिन मात्र सार्वजनिक बिदा दिने व्यवस्था पुनः कायम गर्न आग्रह गरेका छन्।









