देवीघाटमा तरुण दलको उद्धार तथा सरसफाइ अभियान निरन्तर
नुवाकोट । बाढी तथा विपद्बाट प्रभावित नुवाकोटको देवीघाट क्षेत्रमा नेपाल तरुण दलले उद्धार, राहत तथा सरसफाइ अभियानलाई निरन्तरता दिएको छ।
नेपाल तरुण दलका अध्यक्ष मनिष कोइरालाको नेतृत्वमा सञ्चालन भइरहेको अभियानमा नेपाल तरुण दल सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष सञ्जय लामा, जिल्ला सदस्य सोनाम लामासहित विभिन्न जिल्लाका अध्यक्ष तथा तरुण स्वयंसेवकहरूको सहभागिता रहेको छ।
अभियानअन्तर्गत तरुण स्वयंसेवकहरूले प्रभावित नागरिकको उद्धार तथा राहत वितरणसँगै विद्यालय, अस्पताल तथा सार्वजनिक स्थलहरूमा सरसफाइ गरिरहेका छन्।
विपद्का कारण प्रभावित बनेका नागरिकलाई तत्काल सहयोग पुर्याउने उद्देश्यले तरुण स्वयंसेवकहरू विभिन्न क्षेत्रमा परिचालन गरिएको जनाइएको छ।
विपद्को कठिन परिस्थितिमा नागरिकको साथमा रहने, मानवीय सेवा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिने उद्देश्यले उद्धार, राहत तथा सरसफाइ अभियान निरन्तर सञ्चालन गरिने नेपाल तरुण दलले जनाएको छ।









