विपद्ले अवरुद्ध सडक खुलाउन तीव्र गतिमा काम, ५ दिनमै तयार भयो बेलीब्रिज
भाद्र २५। विपद्का कारण अवरुद्ध सडक तथा यातायात सञ्चालनमा ल्याउन सरकारले निर्माण तथा पुनःस्थापनाको कामलाई तीव्रता दिएको छ। नुवाकोटको देवीघाटस्थित तादी खोलामा नेपाली सेनाको सहयोगमा पाँच दिनमै बेलीब्रिज निर्माण सम्पन्न गरिएको छ। निर्माण सम्पन्न भएको पुलको परीक्षणपछि आजैदेखि सवारीसाधन सञ्चालनमा ल्याउने तयारी गरिएको छ। यसैगरी, बाढी तथा पहिरोका कारण यातायात प्रभावित भएका बेत्रावती र स्याब्रुबेसीमा पनि करिब १०० मिटर लम्बाइका पुल निर्माण गर्ने प्रक्रिया अघि बढाइएको छ। पुल निर्माण तथा सडक पुनःस्थापनाको कामले प्रभावित क्षेत्रमा आवागमन सहज हुने र स्थानीय बासिन्दालाई राहत पुग्ने अपेक्षा गरिएको छ।









