सुशासनबिना दुई तिहाइले पनि दिँदैन स्थिरता : सुशीला कार्की
भाद्र २३। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गत वर्ष आजकै दिन सुरु भएको जेनजी आन्दोलनले सुशासन नभए संसद्को दुई तिहाइ बहुमतले समेत राजनीतिक स्थिरता दिन नसक्ने स्पष्ट सन्देश दिएको बताएकी छन्। जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा सन्देश जारी गर्दै उनले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको मागसहित सडक तथा डिजिटल माध्यमबाट आवाज उठाएका युवामाथि भएको दमनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा घाइतेप्रति शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्। उनले आन्दोलनका क्रममा भएको ठूलो जनधनको क्षति, निजी तथा सार्वजनिक सम्पत्तिको विनाश र राष्ट्रिय सम्पदा तथा धरोहरमा पुगेको क्षतिले गहिरो घाउ छोडेको भन्दै यस्तो घटना फेरि दोहोरिन नहुने बताएकी छन्। राजनीतिक स्थायित्व संसदीय गणितले नभई शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्ने उल्लेख गर्दै कार्कीले भ्रष्टाचार नियन्त्रण, विधिको शासन, सुशासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकार प्रभावकारी रूपमा अघि बढ्नुपर्नेमा जोड दिएकी छन्। साथै, जेनजी आन्दोलनको एक वर्ष नपुग्दै भोटेकोसी बाढीको अर्को पीडादायी अवस्था आएको उल्लेख गर्दै उनले विपद्को सामना गर्न सबैलाई एकता, धैर्य र जिम्मेवारीका साथ अघि बढ्न आह्वान गरेकी छन्।









