माथिल्लो त्रिशूली–१ को डि–सेन्डर क्षेत्रमा दुई शव फेला
भाद्र २२। रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ताको खोजी गर्ने क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको डि–सेन्डर बेसिनको तल्लो भागमा दुई जनाको शव फेला परेको छ। उद्धार तथा खोजी टोलीले डि–सेन्डर क्षेत्रबाट पानी र हिलो हटाउँदै खोजी गर्ने क्रममा शव फेला पारेको हो। आयोजनामा रहेको भूमिगत डि–सेन्डर बेसिन बाढीपछि ठूलो मात्रामा पानी तथा हिलोले भरिएको थियो। उद्धार टोलीले थप बेपत्ताको खोजीका लागि अन्य डि–सेन्डर क्षेत्रबाट समेत पानी र हिलो हटाउने कामलाई निरन्तरता दिएको छ। यसअघि सोही क्षेत्रमा खोजीका क्रममा एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको थियो भने माथिल्लो त्रिशूलीका अन्य सुरुङबाट पनि श्रमिकहरू जीवित उद्धार भएका छन्।









