चीनले अर्थतन्त्र उकास्न बैंक र बीमा कम्पनीमा ५४ अर्ब डलर लगानी गर्दै
भाद्र २२। चीनले सुस्त बन्दै गएको अर्थतन्त्रलाई गति दिन तथा वित्तीय क्षेत्रलाई थप मजबुत बनाउन सरकारी स्वामित्वका बैंक तथा बीमा कम्पनीमा करिब ५४ अर्ब अमेरिकी डलर (३६० अर्ब युआन) पुँजी प्रवाह गर्ने भएको छ।
चीनको अर्थ मन्त्रालयको नेतृत्वमा अघि बढाइएको यो योजनाअन्तर्गत कृषि बैंक अफ चाइनाले १६० अर्ब युआन र इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइना (ICBC) ले १०० अर्ब युआनसम्मको नयाँ सेयर जारी गरी पुँजी बढाउनेछन्।
बीमा क्षेत्रमा चाइना लाइफ इन्स्योरेन्सलाई ३५ अर्ब युआन र चाइना ताइपिङ इन्स्योरेन्सलाई ७ अर्ब युआन उपलब्ध गराइनेछ। पिपुल्स इन्स्योरेन्स कम्पनी अफ चाइनाले पनि १५ अर्ब युआनसम्मको पुँजी जुटाउने योजना बनाएको छ।
यसैगरी, चीनको एक्सपोर्ट–इम्पोर्ट बैंकलाई ३० अर्ब युआन उपलब्ध गराइनेछ। सरकारले यो कदममार्फत बैंकहरूको कर्जा प्रवाह क्षमता बढाउने, वित्तीय जोखिम घटाउने र वास्तविक अर्थतन्त्रमा लगानी विस्तार गर्ने लक्ष्य राखेको छ।
चीनमा कमजोर कर्जा माग, घट्दो बैंकिङ नाफा, न्यून ब्याजदर र लामो समयदेखि जारी रियल इस्टेट क्षेत्रको मन्दीले अर्थतन्त्रमा दबाब बढाइरहेका बेला यो ठूलो पुँजी पुनर्संरचना योजना अघि सारिएको हो।









