भदौ २२ गते बागमतीका तीन जिल्लामा सार्वजनिक बिदा
भाद्र १८ । बागमती प्रदेश सरकारले भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
प्रदेश सरकारले चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। उक्त दिन चेपाङ समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व न्वागी (छोनाम) परेको छ।
न्वागी चेपाङ समुदायको मौलिक परम्परा र सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व हो। नयाँ अन्न तथा उत्पादन प्रकृतिलाई चढाएर मात्रै उपभोग गर्ने परम्परा यस पर्वको प्रमुख विशेषता मानिन्छ।
पर्वका अवसरमा चेपाङ समुदायले पूजा, सामूहिक भोज, नाचगान तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएका छन्।
चेपाङ समुदायको उल्लेख्य बसोबास रहेका चितवन, मकवानपुर र धादिङमा न्वागी विशेष रूपमा मनाइने भएकाले प्रदेश सरकारले तीनवटै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
प्रदेश सरकारको निर्णयअनुसार भदौ २२ गते यी तीन जिल्लाका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा हुनेछ।









