दक्षिण कोरियाको ४४ सदस्यीय उद्धार टोली नेपाल आइपुग्यो
भाद्र १७ । दक्षिण कोरियाले रसुवा बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग गर्न पठाएको ४४ सदस्यीय Korea Disaster Relief Team (KDRT) बुधबार बिहान काठमाडौं आइपुगेको छ।
टोलीमा ३ जना परराष्ट्र मन्त्रालयका अधिकारी, ४ जना KOICA का कर्मचारी र ३७ जना राष्ट्रिय अग्नि नियन्त्रक निकायका उद्धारकर्मी छन्। टोलीसँग ५ वटा तालिमप्राप्त उद्धार कुकुर तथा सुरुङभित्र फसेका व्यक्तिको खोजीका लागि उच्च प्रविधिका उपकरण पनि ल्याइएको छ।
टोलीले नेपाल सरकारसँग समन्वय गरी करिब १० दिन खोज तथा उद्धार अभियानमा काम गर्नेछ। विशेषगरी रसुवामा बाढीपछि सम्पर्कविहीन भएका ९ जना दक्षिण कोरियाली नागरिकको खोजी पनि टोलीको प्राथमिकतामा रहेको छ।
यसअघि दक्षिण कोरियाले नेपालमा ११ सदस्यीय प्रारम्भिक खोज तथा उद्धार टोली पठाइसकेको थियो। नयाँ ४४ सदस्यीय टोली भने नेपाल सरकारको औपचारिक अनुरोधपछि थप परिचालन गरिएको हो।









