भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कायमै
भाद्र १७, २०८३। रसुवा र नुवाकोट भएर बहने भोटेकोशी, त्रिशूली तथा आसपासका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम कायमै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। हाल नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि आगामी तीन दिनमा देशका प्रमुख नदीहरूको जलसतह बढ्ने पूर्वानुमान गरिएको छ। त्रिशूलीको बेत्रावती क्षेत्रमा आज र भोलि जलसतह जोखिम तहसम्म पुग्न सक्ने भएकाले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। साथै देशका विभिन्न जिल्लाका साना नदीमा पनि फ्ल्यास फ्लडको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।
बाढीबाट जोगिन यस्तो सतर्कता अपनाउनुहोस्
- नदी, खोला र खोल्सानजिक नजानुहोस् र अनावश्यक यात्रा नगर्नुहोस्।
- भोटेकोशी, त्रिशूली तथा अन्य नदीको किनारमा राति नबस्नुहोस्।
- पानीको सतह बढेको देखिएमा तुरुन्त सुरक्षित र अग्लो स्थानतर्फ जानुहोस्।
- बाढी आएको सडक वा पुल पार गर्ने प्रयास नगर्नुहोस्।
- स्थानीय प्रशासन तथा मौसम विभागका सूचना र चेतावनी नियमित रूपमा हेर्नुहोस्।
- घरमा रहेका बालबालिका, ज्येष्ठ नागरिक र अशक्त व्यक्तिलाई विशेष ध्यान दिनुहोस्।
- आकस्मिक अवस्था आएमा नेपाल प्रहरी, सशस्त्र प्रहरी वा स्थानीय प्रशासनलाई तुरुन्त खबर गर्नुहोस्।









