रसुवा बाढीपीडितका लागि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ६५ लाख सहयोग
काठमाडौं, भदौ १५ — शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा कुल ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बैंकका अनुसार संस्थाको तर्फबाट ५५ लाख रुपैयाँ र कर्मचारीहरूको तर्फबाट १० लाख रुपैयाँ गरी उक्त रकम कोषमा जम्मा गरिएको हो।
बैंकले रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवन लगायतका जिल्लामा बाढीका कारण भएको मानवीय तथा भौतिक क्षति र प्रभावित नागरिकहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गरेको जनाएको छ।
विपद्को यस कठिन घडीमा सरकार तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै खोजी, उद्धार, राहत र पुनःस्थापनाका कार्यमा साथ दिने प्रतिबद्धता पनि बैंकले व्यक्त गरेको छ।
साथै, बैंकले बाढीमा परी ज्यान गुमाएका नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। हालसम्म सम्पर्कविहीन रहेका नागरिकहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि बैंकले गरेको छ।









