भोटेकोशी बाढीपछि अवरुद्ध विद्युत् सेवा वैकल्पिक लाइनबाट पुनःसञ्चालन
११ भदौं, काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण अवरुद्ध भएको विद्युत् आपूर्ति नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्थामार्फत पुनःसञ्चालनमा ल्याएको छ। बाढी प्रभावित खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या र विदुरलगायत क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार चपली सबस्टेसनबाट चपली–देवीघाट ६६ केभी लाइन र ११ केभी लाइन चार्ज गर्ने तथा बालाजु–त्रिशूली ६६ केभीलाई ११ केभी लाइनमार्फत सञ्चालन गर्ने प्राविधिक काम भइरहेको छ। आवश्यक काम पूरा गरी यी लाइनसमेत छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
त्रिशूली क्षेत्रका केही स्थानमा भने धादिङको सल्यानटार सबस्टेसनबाट विद्युत् आपूर्ति गर्ने वैकल्पिक व्यवस्था मिलाइएको छ। बाढीबाट विद्युत् संरचनामा क्षति पुगेका कारण नियमित प्रणालीबाट सेवा दिन कठिन भएका क्षेत्रमा वैकल्पिक स्रोत प्रयोग गरी आपूर्ति कायम गर्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ।
विद्युत् सेवा पूर्ण रूपमा नियमित बनाउन काठमाडौं तथा आसपासबाट दक्ष प्राविधिक, आवश्यक उपकरण र स्रोतसाधनसहितका टोली नुवाकोटतर्फ परिचालन गरिएको छ। टोलीले क्षतिग्रस्त संरचनाको निरीक्षण, मर्मत तथा वैकल्पिक आपूर्ति व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ।









