रसुवा बाढी : ११६ जनाको उद्धार, २० हेलिकोप्टर तयारी, हजारौँ सुरक्षाकर्मी परिचालन, खोजी–राहत जारी
बिहीबार, भदौ ११। रसुवामा बाढी आएको दोस्रो दिन बिहीबार बिहानैदेखि बेपत्ताको खोजी तथा उद्धार तीव्र पारिएको छ। प्रधानमन्त्री बालेन शाहका अनुसार बिहान साढे ६ बजेदेखि नेपाली सेनाको हेलिकोप्टरमार्फत १५ पटकभन्दा बढी उडान गरी टिमुरेबाट ९५ नेपाली र २१ भारतीय गरी ११६ जनाको उद्धार गरिएको छ। साथै टनेलबाट ७ नेपालीसहित मैलुङबाट ३ र टिमुरेबाट १४ जनाको उद्धार गरिएको छ।
उद्धारका लागि थप हेलिकोप्टर तयारी अवस्थामा राखिएका छन् भने त्रिभुवन विमानस्थलमा २० र प्रभावित क्षेत्रमा १० हेलिकोप्टर परिचालन गरिएको छ। रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट तथा अन्य राहत सामग्री पठाइँदैछ। नुवाकोटमा अस्थायी शिविर बनाएर खाना–पानीको व्यवस्था गरिएको छ भने ड्रोनमार्फत प्रभावित क्षेत्रको सर्वेक्षण भइरहेको छ।
नेपाल प्रहरीका ३ हजार ३१८, सशस्त्र प्रहरीका १ हजार ५०० भन्दा बढी र नेपाली सेनाका २ हजारभन्दा बढी जनशक्ति खोज, उद्धार तथा राहतमा खटिएका छन्। सशस्त्रले तालिमप्राप्त सुरक्षाकर्मी, डग स्क्वाड र ६ ड्रोन परिचालन गरेको छ भने नुवाकोटमा स्वास्थ्य शिविर र एपीएफ अस्पतालमा १०० बेड उपचारका लागि छुट्याइएको छ। सेनाले रातभर ११ टोली परिचालन गर्नुका साथै ११ ट्रक राहत सामग्री त्रिशूली पुर्याएको र टिमुरेमा चार सटल राहत पठाएको जनाएको छ। उद्धार, खोज तथा राहत वितरण कार्य निरन्तर जारी छ।









