रसुवा भन्सारका १४ कर्मचारी अझै सम्पर्कविहीन, बाढीले टिमुरे भन्सारका सबै संरचना बगायो
भदौ १० बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा भन्सार कार्यालयमा कार्यरत ४० कर्मचारीमध्ये १४ जना सम्पर्कविहीन भएका छन्। भन्सार विभागका अधिकारीहरूले काठमाडौंबाट निरन्तर सम्पर्कको प्रयास गरिरहेका छन्। हालसम्म २६ जना कर्मचारीसँग भने सम्पर्क स्थापित भएको विभागका महानिर्देशक यमलाल भुसालले जानकारी दिएका छन्। सम्पर्कविहीन रहेका कर्मचारीहरूसँग सम्पर्क स्थापित गर्ने तथा उनीहरूको अवस्थाबारे जानकारी लिने प्रयास जारी रहेको विभागले जनाएको छ। चीनको तिब्बत क्षेत्रबाट बिहान करिब ८ बजे आएको ठूलो बाढीले टिमुरे भन्सार कार्यालयका सम्पूर्ण संरचना बगाएको बताइएको छ। बाढीका कारण टिमुरे तथा आसपासका क्षेत्रमा ठूलो भौतिक क्षति पुगेको विभागले जनाएको छ।









