शिक्षा–स्वास्थ्यको कर हटेपछि प्रभु साहको नयाँ माग
काठमाडौँ । आम जनता पार्टी (आजपा)ले शिक्षा र स्वास्थ्य सेवामा लगाइएको कर फिर्ता लिने सरकारी निर्णयको स्वागत गर्दै राइड सेयरिङ सेवा तथा विद्युत् महसुलमा लगाइएको करसमेत खारेज गर्न सरकारसँग आग्रह गरेको छ।
पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सामाजिक सञ्जालमार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर नलिने सरकारको घोषणालाई सकारात्मक कदमका रूपमा उल्लेख गर्दै त्यसका लागि सरकारप्रति धन्यवाद व्यक्त गरेका छन्।
साहले संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरेका शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा कर लगाउने व्यवस्था उपयुक्त नभएको धारणा व्यक्त गरेका छन्। नागरिकको भावना र सार्वजनिक चासोलाई सम्बोधन गर्दै सरकारले उक्त निर्णय लिनु स्वागतयोग्य भएको उनको भनाइ छ।
यसैक्रममा उनले राइड सेयरिङ सेवा र विद्युत् महसुलमा कायम गरिएको करसमेत पुनर्विचार गरी हटाउन सरकारसँग माग गरेका छन्।
सरकारले हाल राइड सेयरिङ (सवारी साझेदारी) सेवा र विद्युत् महसुलमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेको छ।









