सुर्खेतमा कुलदेवताको पूजा गर्न जाँदै गरेका पुरुषको भिरबाट लडेर मृत्यु
सुर्खेत — सुर्खेतमा कुलदेवताको पूजा गर्न परिवारसहित जाँदै गरेका एक पुरुषको भिरबाट लडेर मृत्यु भएको छ।
पञ्चपुरी नगरपालिका–९ कुलिबाड निवासी ५५ वर्षीय लोकबहादुर सुनारको पञ्चपुरी नगरपालिका–७ स्थित कोल्टेभिरबाट करिब ३०० मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आइतबार दिउँसो सुनार पत्नी धौली सुनार, छोरा कमल सुनार र बुहारी टिकुला सुनारसँगै अछामको तुर्माखाँद गाउँपालिका–४ जुएमा रहेको कुलदेवताको पूजा गर्न पैदल जाँदै थिए।
बाटोमा हिँड्ने क्रममा उनी चिप्लिएर भिरबाट खसेका थिए। भिरबाट लडेपछि उनी सल्लाको मुडामा अड्किएको अवस्थामा फेला परेका थिए। आफन्तका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।









