अमेरिका र इरानबिच युद्धविरामको सहमतिः शुक्रबार औपचारिक रूपमा हस्ताक्षर गर्ने कार्यक्रम
काठमाडौं । अमेरिका र इरानबिच चलिरहेको युद्ध अन्त्य गर्न दुवै देशका अधिकारीहरू एउटा प्रारम्भिक सहमतिमा पुगेका छन्। आइतबार भएको यस सहमतिअनुसार अमेरिकाले इरानमाथि लगाएको नाकाबन्दी हटाउने र स्ट्रेट अफ होर्मुज पुनः खुला गरिनेछ। यस प्रारम्भिक सम्झौतासँगै विश्वबजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ तर इरानको परमाणु कार्यक्रमको भविष्य भने आगामी वार्ताहरूबाट मात्रै टुङ्गो लाग्नेछ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनको स्थानीय समयअनुसार आइतबार साँझ साढे ५ बजे आफ्नो सोसल मिडिया प्लेटफर्म ‘ट्रुथ सोसल’मा लेखेका छन्, ‘इस्लामिक गणतन्त्र इरानसँगको सम्झौता अब पूरा भएको छ।’ ट्रम्पको यो भनाइ आउनुअघि यस वार्तामा मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सोमबार बिहानै सम्झौता भएको घोषणा गरेका थिए। यो समझदारी पत्रमा आगामी शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक रूपमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ।
सम्झौताका विस्तृत सर्तहरू तत्काल सार्वजनिक गरिएका छैनन्। तर पाकिस्तानी प्रधानमन्त्री सरिफले सामाजिक सञ्जाल एक्समा लेखेअनुसार यस सम्झौताले लेबनानसहित सबै मोर्चाहरूमा भइरहेका सैन्य कारबाहीहरूलाई तत्काल र स्थायी रूपमा बन्द गर्न आह्वान गरेको छ। पछिल्ला हप्ताहरूमा ट्रम्पलगायत अन्यको आग्रहलाई बेवास्ता गर्दै इजरायल र हिज्बुल्लाहले एकअर्काविरुद्ध आक्रमण जारी राखेका कारण लेबनान वार्ताको एउटा जटिल बिन्दु बनेको थियो।
यसैबिच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले एक विज्ञप्ति जारी गर्दै लेबनानसहित सबै मोर्चाहरूमा सोमबार रातिदेखि युद्ध र सैन्य कारबाही स्थायी रूपमा अन्त्य हुने जनाएको छ। यद्यपि, अमेरिका(इरान वार्तामा आफू संलग्न नरहेको बताउँदै आएको इजरायलले भने यस घोषणाप्रति तत्काल कुनै प्रतिक्रिया जनाएको छैन।
ट्रम्पले महिनौँदेखि इरानले बन्द गरेको विश्वव्यापी तेल र ग्यास आपूर्तिको प्रमुख समुद्री मार्ग स्ट्रेट अफ होर्मुज शुक्रबार खुल्ने बताएका छन्। साथै उनले इरानी बन्दरगाहहरूमा लगाइएको अमेरिकी नाकाबन्दी अन्त्य गर्न आदेश दिएको पनि जानकारी दिए।
ट्रम्पले लेखेका छन्, ‘विश्वका पानीजहाजहरू, आफ्नो इन्जिन सुरु गर। अब तेल बग्न देउ१’ यो खबरसँगै तेलको मूल्य घटेको छ। सोमबारको सुरुवाती कारोबारमा ब्रेन्ट क्रुड फ्युचर्स ४ प्रतिशतले घट्यो भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट ४।६ प्रतिशतभन्दा बढीले ओरालो लाग्यो। यसैबिच एसियाली सेयर बजारमा भने उछाल आएको छ।
बाइडेन प्रशासनका पूर्व विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले ट्रम्पले युद्ध सुरु गर्नुअघिको अवस्थामा फर्किन इरानलाई महत्त्वपूर्ण छुट दिएको भन्दै आलोचना गरे। उनले भने, ‘परमाणु कार्यक्रमलाई सम्बोधन गरिनेछ भन्ने हामीलाई कुनै ग्यारेन्टी छैन, तर इरानले विश्व अर्थतन्त्रलाई बन्धक बनाएर अमेरिकाबाट केही प्राप्त गर्न सक्छ भन्ने कुरा विश्वलाई देखाएको छ।’
इरानका उपविदेशमन्त्री काजेम गरिबाबाडीले ६० दिने युद्धविरामको अवधिमा इरानमाथिको प्रतिबन्ध फुकुवा गर्नेलगायतका थप विस्तृत सम्झौतामा वार्ता हुने बताएका छन्। रोयटर्सका अनुसार इरानको परमाणु कार्यक्रमको जटिल विषय पनि तिनै आगामी वार्ताहरूमा उठाइनेछ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायली सेनाले इरानमाथि पहिलो आक्रमण गरेयता इरान र लेबनानमा हजारौँ मानिस मारिएका छन्। इरानले पनि इजरायल र अमेरिकी बेस क्याम्प रहेका खाडी देशहरूमा आक्रमण गर्नुका साथै स्ट्रेट अफ होर्मुज बन्द गरेर विश्वव्यापी ऊर्जाको मूल्य बढाइदिएको थियो।









