सिंहदरबारमा सर्वदलीय बैठक जारी
काठमाडौं । सत्तारूढ रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा आज सर्वदलीय बैठक बसेको छ।प्रधानमन्त्री बालेन शाहले सीमासम्बन्धी दिएको अभिव्यक्ति पुष्टि गर्ने प्रमाण देखाउनुपर्ने नभए रेकर्डबाट हटाउनुपर्ने मागसहित प्रतिपक्षी दलहरूले लगातार संसद बैठक अवरूद्ध गरेको अवस्थामा सभापति लामिछानेले सर्वदलीय बैठक राखेका हुन्।
केहीबेरअघि सर्वदलीय बैठक सुरू भएको छ। बैठकमा अधिकांश शीर्ष नेता सहभागी छैनन्। सभापति लामिछानेले प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका सभापतिरअध्यक्षसहित २ जनालाई बैठकमा आउन निम्ता दिएका थिए।
बैठकमा नेपाली कांग्रेसबाट संसदीय दल नेता भीष्मराज आङ्देम्बे र सांसद शाहजान खातुन, नेकपा एमालेबाट प्रमुख सचेतक ऐन महर, नेकपाबाट सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुन, रास्वपाबाट सभापति लामिछानेसहित महामन्त्री कबिन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा, राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन्।त्यस्तै कानुन मन्त्री सोबिता गौतम पनि सर्वदलीय बैठकमा सहभागी छिन्।









