भारतमा घरेलु प्रयोगका एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
काठमाडौं । भारतमा घरेलु प्रयोगका एलपी ग्यास सिलिन्डरको मूल्य २९ भारतीय रुपैयाँले वृद्धि गरिएको छ । नयाँ मूल्य आइतबारदेखि लागू भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भारतमा भएको यो मूल्यवृद्धिले नेपालमा समेत एलपी ग्यासको मूल्य समायोजनको दबाब बढ्ने संकेत देखिएको छ, किनभने नेपालले आफ्नो सम्पूर्ण एलपी ग्यास भारतबाट आयात गर्दै आएको छ ।
नयाँ मूल्यअनुसार भारतको राजधानी नयाँदिल्लीमा १४।२ किलोग्राम क्षमताको घरेलु एलपी ग्यास सिलिन्डरको मूल्य ९१३ भारतीय रुपैयाँबाट बढेर ९४२ भारतीय रुपैयाँ पुगेको छ । यसअघि गत मार्च ७ मा पनि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा आएको उतारचढाव र आपूर्ति शृंखलामा परेको प्रभावका कारण प्रति सिलिन्डर ५० रुपैयाँले मूल्य बढाइएको थियो ।
नेपालमा एलपी ग्यासको मूल्य भने नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशन ९आईओसी० बाट प्राप्त हुने नयाँ खरिद मूल्यका आधारमा मासिक रूपमा समायोजन गर्दै आएको छ । भारतमा भएको मूल्य परिवर्तनले आगामी मूल्यसूचीमा नेपालले आयात गर्ने ग्यासको लागत बढ्न सक्ने भएकाले स्वचालित रूपमा नेपाली बजारमा पनि मूल्य समायोजनको सम्भावना बढेको छ ।
यद्यपि नेपालमा मूल्य बढ्ने वा नबढ्ने विषय भने आईओसीले पठाउने नयाँ मूल्यसूची, ढुवानी लागत, विनिमय दर र निगमको समग्र नाफा–नोक्सान अवस्थामाथि निर्भर रहनेछ । ऊर्जा विज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य उच्च रहेमा नेपाल आयल निगममाथि वित्तीय भार बढ्न सक्छ । निगमले घाटा व्यवस्थापन गर्न नसकेमा उपभोक्ताले पनि मूल्यवृद्धिको असर भोग्नुपर्ने अवस्था आउन सक्छ ।









