जोन्टा क्लब काठमाडौंद्वारा Zontian विदुषी राणालाई संघीय संसद सदस्य नियुक्त भएकोमा बधाई
काठमाडौं – जोन्टा क्लब काठमाडौंले Zontian विदुषी राणालाई नेपालको संघीय संसदको माननीय सदस्यमा नियुक्त भएकोमा हार्दिक बधाई व्यक्त गरेको छ। यो विशिष्ट उपलब्धिले निजी क्षेत्रको विकास, सेवा तथा नेतृत्वप्रतिको उहाँको दीर्घकालीन प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।
३१ मे २०२६ मा आयोजित क्लबको वार्षिक साधारण सभाका अवसरमा Zontian विदुषी राणालाई नब अध्यक्ष मृदुला राजभण्डारी तथा अन्य सदस्यहरूले उहाँले प्राप्त गर्नुभएको महत्वपूर्ण राष्ट्रिय जिम्मेवारीको सम्मानस्वरूप बधाई व्यक्त गरेका थिए। यसअघि ६ अप्रिलमा सम्पन्न जोन्टा क्लब काठमाडौंको साधारण सभामा एरिया डाइरेक्टर २ Zontian मीरा ज्योति, तत्कालीन जिल्ला गभर्नर (IPDG) Zontian श्रीजना राणा, जोन्टा क्लब काठमाडौंकी अध्यक्ष Zontian बिना राणा तथा बोर्ड सदस्यहरूले संयुक्त रूपमा उहाँलाई सम्मान गरेका थिए।
“विदुषी राणाको संसदमा नियुक्ति तथा त्यसपश्चात संसदीय वित्त समितिमा भएको जिम्मेवारी जोन्टा क्लब काठमाडौंका लागि अत्यन्त गर्वको विषय हो। उहाँको उपलब्धिले नेतृत्व, सेवा, वकालत तथा महिला सशक्तीकरणजस्ता जोन्टाले विश्वभर प्रवर्द्धन गर्दै आएका मूल्यहरूलाई प्रतिबिम्बित गर्दछ,” IPDG Zontian श्रीजना राणाले भन्नुभयो।
जोन्टा क्लब काठमाडौंकी अत्यन्त सक्रिय तथा महत्वपूर्ण सदस्यका रूपमा विदुषी राणाले वर्षौंदेखि क्लबका सेवा तथा वकालतसम्बन्धी कार्यक्रमहरूमा उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएको छ। उहाँले महिला अधिकार, लैङ्गिक समानता तथा सामुदायिक सचेतनासम्बन्धी कार्यक्रमहरूलाई अगाडि बढाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ। क्लबको “महिला-हिंसा विरुद्ध समिति” की संयोजकका रूपमा उहाँले सन् २०२२ को “जोन्टा सेज नो टु भायलेन्स अगेन्स्ट वुमन” अभियानको नेतृत्व गर्दै सडक नाटक, सामुदायिक छलफल तथा सामाजिक सञ्जालमार्फत सचेतनामूलक कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गर्नुभएको थियो।
एक सफल उद्यमीका रूपमा उहाँको अनुभव, निरन्तर सेवा तथा नेतृत्वले समावेशी, समानतामूलक र समृद्ध नेपालको निर्माणमा अर्थपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। साथै महिला तथा बालिकाका लागि अझ राम्रो विश्व निर्माण गर्ने साझा दृष्टिकोणलाई पनि यसले थप सशक्त बनाउने विश्वास गरिएको छ।









