७ निर्माण कम्पनी कालोसूचीमा, कुन–कुन परे ?
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले सातवटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ। विभिन्न सार्वजनिक निकायहरूको सिफारिसमा कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम ती कम्पनीहरूलाई एक वर्षदेखि दुई वर्षसम्मका लागि प्रतिबन्ध लगाएको हो।
कालोसूचीमा पर्नेहरूमा अनुप कन्स्ट्रक्सन, गोरिल निर्माण सेवा, कृपा इन्जिनियरिङ्ग, गंगोत्री देवी निर्माण सेवा, अंसुमन निर्माण सेवा र अच्युत कन्स्ट्रक्सन रहेका छन्। यी छ वटा कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ भने नेपाल विद्युत प्राधिकरणको सिफारिसमा इटालीको ‘एमरएस ईएलसी इलेक्ट्रोकन्सल्ट’लाई दुई वर्षका लागि प्रतिबन्ध लगाइएको मंगलबार कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।
कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको अवधिभर अब कुनै पनि सरकारी ठेक्कापट्टा वा खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।









