एन्फा अध्यक्षसहित २४ जनाको पासपोर्ट कालोसूचीमा, विदेश जान रोक
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षसहित पंकजबिक्रम नेम्बाङसहित २४ जनाको पासपोर्ट कालोसूचीमा परेको छ। अध्यागमन विभागका अनुसार शुक्रबार एन्फाका २४ जनाको पासपोर्ट कालोसूचीमा राख्न निवेदन प्राप्त भएको र त्यहिँअनुसार कालोसूचीमा राखिएको छ।
यसअघि राष्ट्रिय खेलकुद परिषदले एन्फाको विषयमा छानविन गर्नका लागि कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानविन उपसमिति गठन गरेको थियो। सोही समितिले आर्थिक विषयमा छानविन गर्न भन्दै नेम्बाङसहितका पदाधिकारीको पासपोर्ट कालोसूचीमा राख्न पत्राचार गरेको खेलकुद परिषद स्रोतको भनाइ छ।
उक्त पत्र युवा तथा खेलकुद मन्त्रालय हुँदै गृह मन्त्रालय पुगेको थियो। त्यसपछि गृह मन्त्रालयबाट अध्यागमन पत्र पुगेपछि एन्फाका पदाधिकारीहरुको पासपोर्ट कालोसूचीमा राखिएको हो।
‘एन्फाका पदाधिकारीहरुको पासपोर्ट कालोसूचीमा राखिएको छ। उनीहरूलाई विदेश जान नदिनु भनेर पत्र आएको हो। केही गरी कालोसूचीमा रहेका व्यक्ति विदेश जान खोजेमा सम्बन्धित निकायलाई अध्यागमनले जानकारी गराउँछ,’ अध्यागमन स्रोतले भन्यो।
पछिल्लो समय खेलकुद परिषद र एन्फाबीच विवाद छ। आफ्नो निर्देशन विपरित निर्वाचन गर्न लागेको भन्दै एन्फामाथि खेलकुद परिषदले तीन महिनाको निलम्बन गरेको थियो।
साथै एन्फामा अनिमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीको विषयमा खेलकुद मन्त्रालयमा पत्र प्राप्त भएका थिए। त्यसपछि राष्ट्रिय खेलकुद परिषदले छानविनका लागि उपसमिति गठन गरेको थियो। उक्त समितिले नै आर्थिक विषयमा छानविन गर्नु पर्ने भन्दै एन्फा पदाधिकारीको पासपोर्ट कालोसूचीमा राख्दै विदेश जान नदिने भनेको थियो।
योबीचमा एन्फाका पदाधिकारी क्यानडाको भ्यानकुवरमा हुने ७६औं फिफा कंग्रेसमा हुने कार्यक्रम छ। फिफा कंग्रेस बिहीबारदेखि सुरु हुँदैछ। अब पासपोर्ट कालोसूचीमा परेपछि एन्फा पदाधिकारीको क्यानडा भ्रमण अनिश्चित बनेको छ।









