image
image

कोरोनाका कारण स्वरोजगार बन्दै पोर्चुगलका नेपाली

पोर्चुगल। पोर्चुगललाई कर्मथलो बनाउँदै आएका नेपालीले विश्वव्यापी महामारीको समय सही तवरले सदुपयोग गरेका छन् । कोरोनाको कारण उद्योग, व्यवसायको उत्पादनमा गिरावट आएपछि बेरोजगार बन्दै गएका नेपालीले घरमा बसी आम्दानी हुने बाटो खोजी गर्न थालेका छन् ।

हुन पनि सन् २०२० को शुरुवातसँगै विश्व कोभिडबाट त्रसित भयो । विश्वका लाखौँ नागरिक सङ्क्रमित भए । मृत्यु हुनेको सङ्ख्या बढ्दै गएकाले प्रायः सबै देशले आपत्काल घोषणा गरे । रोजगारीका लागि विश्वभर छरिएका नेपाली जस्तै यहाँका बस्दै आएका नेपाली बेरोजगार भए । बसाइँ अनुमतिपत्र बनाउन सजिलो हुने भएकाले पछिल्लो समयमा पोर्चुगलमा आप्रवासी बढेसँगै नेपाली समुदायको पनि सङ्ख्या बढ्दै गएको छ । यसरी बेरोजगार भएका केही नेपालीले सरकारबाट पाइने सुविधा बेरोजगारी भत्ता पाएर दैनिक खर्च टारेका छन् त केही नयाँ बसाइँ अनुमतिपत्र नबनिसकेका नेपालीलाई सरकारी सुविधा, रोजगार, बेरोजगारी भत्ता नभएकाले बस्न, खान निकै समस्या छ ।

शुरूवातका केही समय नेपालबाट पैसा मगाउँदै दैनिकी खर्च टार्दै गरे पनि लामो समयसम्म कोरोनाको महामारी नरोकिएपछि थप समस्यामा परेका नेपाली युवायुवतीले घरमा बसी आम्दानी हुने बाटो खोजी गर्न थालेका छन् । समयको मागअनुसार आफ्नो सीपको सदुपयोग गर्दै आम्दानीको स्रोत खोज्नतिर नेपाली केन्द्रित भएका छन् । बाक्लो सङ्ख्या रहेका नेपाली समुदायलाई आवश्यकता पर्ने मःमः, समोसा, सेलरोटी, पनिरलगायत खाद्यान्न तयार गरी बिक्री वितरण गर्ने अभियानको शुरुआत गर्दै नेपालीले पनि मनग्ये आम्दानी गर्न थालेका छन् ।

पर्बत घर भइ विगत एक वर्ष पहिला पोर्चुगल आएका घनश्याम भुुसाललाई तयारी मःम बनाउन भ्याइनभ्याई छ । दैनिक १०० प्लेटभन्दा बढी मःमको माग आउँछ । शुरु–शुरुमा १०/१२ प्लेट माग आउने गथ्र्यो । मःम एक्लै बनाउँदै आएका उनले अहिले बजारमा माग बढी आउन थालेपछि श्रीमतीलाई समेत व्यवसायमा ल्याइसकेका छन् । अझ आफूले बनाएको मःम नेपालीले मात्रै नभएर विदेशीले पनि लैजाने गरेको उनी बताउँछन्  ।

उनी मात्रै होइन, सुनिता सापकोटा पनि सेलरोटी, समोसा बनाउन व्यस्त छिन् । उनी नेपालबाट काम गर्ने अनुमति लिएर पोल्याण्ड आइन्, । उनी पोर्चुगल आएपछि कोरोना शुरु भयो । अनि उनले जानेको सीप सेलरोटी बनाउने भएकाले बजारमा सेलरोटीको माग छ कि छैन भनेर बजारको अध्ययन गर्न थालिन् । उनलाई हौसला प्रदान गर्दै काम गर्न अनुरोध गरेपछि अहिले बाहिर काम खोज्नु पर्ने अवस्था छैन ।

बनेपाका कृष्ण तिमिल्सिना घरमा दूधबाट पनिर बनाउन निकै ब्यस्त छन् । उनी पनि कोभिड प्रभावले घरमा पनिर तयार गर्ने अभियानमा लागे । दशवर्षे जनयुद्धमा होमिएका तिमिल्सिना शरीरमा गोलीको छिर्का लिएर उज्ज्वल भविष्य बनाउन युरोपेली मुलुक पोर्चुगलमा छन् । रोजगारीको खोजीमा विदेशिएका भएका तिमिल्सिनालाई कोभिडले झनै समस्या थप्यो । जीविकोपार्जन गर्न कठिनाइ भएपछि अहिले उनले पनिर बनाउँदै आएका छन् । दैनिक आठ घण्टा काम गर्दा मासिक ६६५ युरो पारिश्रमिक यहाँको सरकारले तोकेको भए पनि आफैं घरमा पनिर बनाउँदा मासिक १००० युरोसम्म कमाइ भएको छ । “मेरो दुःख देख्नेहरुले पनिर किनिदिएर सहयोग गर्नुहुन्छ । म उहाँहरुप्रति निकै आभारी छु”, उनले भने ।

उनीहरु त प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरु जस्तै विभिन्न किसिमका काम गर्दै घरमै बसीबसी आयआर्जन गर्नेहरुको सङ्ख्या बढ्दो छ । इन्टरनेटको माध्यमद्वारा बसाइँ अनुमतिपत्र बनाउन आवश्यक पर्ने कागपत्र बनाउन वा प्रमाणीकरण गर्ने कामलाई सहजीकरण गर्दै आयआर्जन गर्नेहरुको सङ्ख्या पनि थुप्रै छ । घरघरमा पुगी सेवाग्राहीको चाहनाअनुसारको सौन्दर्य सम्बन्धित सेवा प्रदान गरिरहेका नेपाली दिदीबहिनी पनि उल्लेख मात्रामा भेटिन्छन् ।

कोरोना महामारीको प्रकोप अझै पनि दिनानुदिन बढिरहेकाले पोर्चुगलमा बसोवास गरिरहेका नेपालीमाझमा रोजगारीको सम्भावना खोजीमा लाग्ने नेपालीको सङ्ख्या दिनानुदिन बढिरहेको छ । रासस
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।