निर्वाचनका लागि १ करोड ४२ लाखभन्दा बढी मतपत्र छापियो
काठमाडौं — आगामी प्रतिनिधि सभा निर्वाचनका लागि हालसम्म १ करोड ४२ लाखभन्दा बढी मतपत्र छापिएको छ। जनक शिक्षा सामग्री केन्द्रका अनुसार हालसम्म कुल १ करोड ४२ लाख ८ हजार मतपत्र छापिइसकेको छ।
पछिल्लो २४ घण्टामा मात्र १ लाख १६ हजार मतपत्र छापिएको केन्द्रले जनाएको छ। निर्वाचन आयोगको निर्देशनअनुसार कुल २ करोड ८ लाखभन्दा बढी मतपत्र छाप्ने लक्ष्य राखिएको छ।
हालसम्म ११ हजारभन्दा बढी मतपेटिका प्याक भइसकेका छन् भने नमुना मतपत्रसमेत आयोगलाई पठाइएको केन्द्रले जानकारी दिएको छ। छपाइ कार्य तीव्र गतिमा अगाडि बढिरहेको केन्द्रको भनाइ छ।









