नेपालको विश्वकप तयारी कोलम्बो र मुम्बई केन्द्रित
काठमाडौँ — ट्वान्टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने भएको छ। आगामी महिना सुरु हुने विश्वकपलाई लक्षित गर्दै नेपालले श्रीलंकाको कोलम्बो र भारतको मुम्बईमा तयारी खेलहरू खेल्न लागेको हो।
नेपाल क्रिकेट संघका अनुसार कोलम्बोमा नेपालले श्रीलंका ‘ए’ टोलीसँग तीन वटा अभ्यास खेल खेल्ने कार्यक्रम तय भएको छ। यी खेलहरूलाई विश्वकपअघि टोलीको तयारी सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
यसअघि नै क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय विश्वकप टोली घोषणा गरिसकेको छ। नेपाल तेस्रो पटक ट्वान्टी–२० विश्वकपमा सहभागी हुन लागेको हो। यसअघि नेपालले सन् २०१४ र २०२४ मा विश्वकप खेलेको थियो।
समूह चरणमा नेपालले इंग्ल्यान्डसँग फेब्रुअरी ८, इटालीसँग फेब्रुअरी १२, वेस्ट इन्डिजसँग फेब्रुअरी १५ तथा बंगलादेशसँग फेब्रुअरी १७ मा प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। समूह चरणका सबै खेल भारतको मुम्बईस्थित वाङ्खडे रंगशालामा हुनेछन्।









