डा. भिमार्जुन आचार्यले राति घरमै रहेका व्यक्तिलाई पक्राउ गर्नु ‘कानूनविरुद्ध’ भएको टिप्पणी
काठमाडौँ- संविधानविद् डा. भिमार्जुन आचार्यले रातिको समयमा परिवारसँग घरमै रहेको व्यक्तिलाई प्रहरीले गिरफ्तार गर्नु कानूनले नै निषेध गरेको कार्य भएको बताएका छन्।
उनको भनाइ अनुसार, यस्ता घटनाले नागरिक शासनमा ठूलो धब्बा बस्ने र कानूनी प्रक्रियाको मर्यादामाथि प्रश्न उठाउने गरेको छ।
डा. आचार्यले यो टिप्पणी मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सोमबार मध्यरात पक्राउ गरिएको घटनासँग जोडेर सार्वजनिक गरेका हुन्। फेसबुकमा लेख्दै उनले भनेका छन्—
“अभिव्यक्ति स्वतन्त्रताका सीमा र मर्यादा हुन्छन्, तर रातिको समयमा परिवारसँग रहेका व्यक्तिलाई गिरफ्तार गर्नु कानूनतः बर्जित कार्य हो। नागरिक शासनको निकै ठूलो धब्बा पनि हो। यस्तो हर्कत गर्न सरकारलाई केले बाध्य बनायो? जवाब चाहिन्छ सरकार!”
प्रसाईंलाई भक्तपुरस्थित निवासबाट राति नियन्त्रणमा लिएर काठमाडौं प्रहरी परिसर भद्रकालीमा राखिएको छ।
उनीमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा चार दिन म्याद थप गरिएको प्रहरीले जनाएको छ।
यसपछि उनका समर्थक तथा नागरिक बचाउ दलले विरोध प्रदर्शन गर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ।









