पाँचथरमा हराएका दाजु-बहिनी मृत फेला
काठमाडौं - पाँचथरको याङवरक गाउँपालिका–१, विरुवामा पाँच दिनदेखि बेपत्ता भएका दाजु शिशिर राई (१० वर्ष) र बहिनी नानुमा राई (४ वर्ष) मृत अवस्थामा फेला परेका छन्।
उनीहरूको शव मङ्गलवार बिहान विरुवा खोलाको किनारमा छुट्टाछुट्टै स्थानमा भेटिएको प्रहरीले जनाएको छ।
साउन १५ गते विद्यालय जान घरबाट निस्केका उनीहरू त्यसपछि सम्पर्कविहीन भएका थिए। स्कुल नपुगेको जानकारी पाएपछि परिवारले खोजी थालेका थिए।
प्रहरीका अनुसार उनीहरूले त्यसदिन हजुरबुबाकोमा खाना खाएका थिए।
बुबा बिर्खबहादुर गाउँमै कृषिमा संलग्न छन् भने आमा वैदेशिक रोजगारीमा छन्।
घटनाबारे अनुसन्धान जारी रहेको र शव परीक्षणका लागि तयारी भइरहेको प्रहरीले जनाएको छ।









