दिगो पर्यटनमा योगदान, प्रकृति रिसोर्टलाई बेलायती ट्राभलाइभ अवार्ड
काठमाडौँ ' सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३, हैबुङमा अवस्थित प्रकृति रिसोर्ट एन्ड अर्ग्यानिक फार्मले दिगो पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान गरेबापत बेलायतको प्रतिष्ठित ‘ट्राभलाइभ’ प्रमाणीकरण प्राप्त गरेको छ।
यस रिसोर्टले हरित पूर्वाधार विकास, अर्ग्यानिक कृषि अभ्यास, शून्य फोहोर नीति तथा सामुदायिक सहभागिता जस्ता मापदण्डलाई समेट्दै दिगो अभ्यासहरूमा अग्रसर भूमिका निर्वाह गर्दै आएकोमा यो प्रमाणीकरण प्राप्त भएको हो।
काठमाडौंमा नेपाल पर्यटन बोर्डमा आयोजित एक कार्यक्रममा उक्त प्रमाणीकरण प्रदान गरिएको हो। ग्लोबल सस्टेनेबल टुरिजम काउन्सिल (GSTC) तथा संयुक्त राष्ट्रसंघीय पर्यटन संगठन (UNWTO) को दिगो विकास लक्ष्य (SDGs) आधारित १४३ मापदण्डहरू पूरा गरेपछि यो मान्यता प्राप्त भएको रिसोर्टका प्रबन्ध निर्देशक अरुण श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार, “यो उपलब्धिले रिसोर्टका दीर्घकालीन अभ्यासहरूलाई मान्यता मात्र दिएको छैन, नेपाली पर्यटन उद्योगमा दिगोपनाको प्रवृत्तिलाई पनि सुदृढ पार्नेछ।”
नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले ट्राभलाइभजस्ता अन्तरराष्ट्रिय प्रमाणीकरणहरूले सम्पूर्ण पर्यटन क्षेत्रलाई दिगो अभ्यासतर्फ अभिप्रेरित गर्ने विश्वास व्यक्त गरे। उनले भने, “स्थानीय समुदायको सहभागीता र जिम्मेवारीपूर्ण प्रविधिको प्रयोगबिना दिगो पर्यटन सम्भव छैन।”
होटल संघ नेपालका अध्यक्ष विनायक शाहले हरित पर्यटन नै भविष्य भएकाले यस्तो उपलब्धिले इको–टुरिजममा थप टेवा पुर्याउने बताए।
कार्यक्रममा दिगो पर्यटनको अवधारणा, रणनीति र भावी योजनाबारे समूहगत छलफलसमेत गरिएको थियो।












