मोरङको बेलबारीबाट चार बालिका बेपत्ता, प्रहरीद्वारा खोजी तीव्र
काठमाडौँ - मोरङको बेलबारी नगरपालिका–२, लालभित्ती क्षेत्रबाट एकै स्थानका चार बालिका एकैपटक बेपत्ता भएका छन्। उनीहरू गणतन्त्र दिवसको दिन अर्थात् जेठ १५ गतेदेखि सम्पर्कविहीन छन्।
बेपत्ता हुनेमा सुन्दरहरैचा–११ शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली, १५ वर्षीया सविता परियार, र बेलबारी–२ स्थित कविर माविमा अध्ययनरत १२ वर्षीया स्मृति कार्की डोली तथा अनुष्का कार्की डोली रहेका छन्।
स्थानीय स्रोतका अनुसार उनीहरू ‘साथी भेट्न जान्छौं’ भनेर घरबाट निस्किएका थिए। तर त्यसयता उनीहरू कसैसँग सम्पर्कमा आएका छैनन्, जसले गर्दा परिवारजन र स्थानीयमा चिन्ता बढेको छ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले बालिकाहरूको खोजीका लागि सुराकी र प्राविधिक विधिबाट अनुसन्धान भइरहेको जानकारी दिए।









