दार्चुलामा ढुङ्गाले लागेर ७० वर्षीय वृद्धको मृत्यु
काठमाडौं - नौगाड गाउँपालिका–६ धुलिगडाबाट बझाङतर्फ पैदलयात्रा गर्दै गरेका ७० वर्षीय कालु जोशीको ढुङ्गाले लागेर मृत्यु भएको छ। आज बिहानको घटनामा जोशीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र रावतले जानकारी दिए।
प्रहरीका अनुसार, जोशी र उनका सहयात्री रतपडे भन्ने स्थानमा माथिबाट खसेको ढुङ्गामा परेका थिए। जोशीको घटनास्थलमै मृत्यु भएको र उनका सहयात्री ४५ वर्षीय प्रताप धामी घाइते भएका छन्। उनलाई उद्धार गरी गोकुलेश्वर अस्पताल पठाइएको छ।









