image

खाद्यान्न बालीमा परनिर्भरता चुलिँदो

खाद्यान्न बालीमा परनिर्भरता चुलिँदो

काठमाडौं - लगातार ३५ वर्षदेखि प्रमुख खाद्यान्न बालीको उत्पादन खुम्चिदा परनिर्भरता भने बढ्दै गएको छ । नेपालीका प्रमुख खाद्यान्न बाली  धान, मकै, गहुँ, कोदो र फापरको उत्पादनमा ह्रास हुँदै गएको हो । सबैभन्दा धेरै फापरको उत्पादनमा ४० प्रतिशले गिरावट आएको छ । बजारमा मीठे फापरको पीठो प्रतिकिलो रु १५० पर्छ । जबकि सो मूल्य बास्मती चामल सो सरह हुन आउँछ ।

विसं २०५८ मा सम्पन्न कृषि गणनालाई आधार मान्ने हो भने २०७८ सालको कृषि गणनासम्म पुग्दा अन्नबालीमा ३० प्रतिशतले कमी हुने सहजै अनुमान गर्न सकिन्छ । राष्ट्रिय जनगणना २०७८ आगामी जेठ २५ देखि शुरु हुँदै छ । नेपालमा पहिलो कृषि गणना २०१८ देखि र राष्ट्रिय जनगणना १९६८ सालबाट शुरु भएको हो ।

तात्कालीन नेपाल सरकारले प्रमुख खाद्यान्न बाली चामल निर्यात गर्न २०३५ सालमा धान चामल निर्यात कम्पनी स्थापना गरेको थियो । सोही कम्पनीले बङ्गलादेश, भूटान र भारतमा चामल निर्यात गर्दथ्यो । विसं २०७८ सम्म पुग्दा हाल प्रतिमहिना रु दुई अर्बको चामल आयात गर्ने गरेको तथ्याङ्कमा उल्लेख छ ।
भन्सार विभागका अनुसार यस आर्थिक वर्षको पहिलो छ महिनामा भारतबाट ३० करोड र अमेरिकाबाट सात लाख ३३ हजार किलो चामल नेपाल भित्रिएको छ । त्यस्तै ३३ करोड किलो मकै भारतबाट भित्रिँदा २४÷२४ लाख किलो दक्षिण अमेरिकी देश ब्राजिल, अर्जेन्टिना र तीन लाख ५० हजार किलो दक्षिण अफ्रिकाबाट आयात भएको छ ।

कृषि गणना २०६८ ले नेपालको प्रमुख खाद्यान्न बाली धान छ, मकै १२, गहुँ छ,  कोदो १९ र फापरमा ४० प्रतिशतले उत्पादनमा गिरावट  आएको तथ्याङ्क सार्वजनिक गरेको छ । त्यसैगरी जौँ ३५, तोरी १३ र कोषे बालीमा २१ प्रतिशतले उत्पादन घटेको छ ।
कृषि विज्ञले उत्पादन घट्नुको मुख्य कारण भूमिको खण्डीकरण, खेतीयोग्य जमीन बाँझो हुँदै जानु र खेतीमा आश्रित महिला वर्ग शहर पस्नुलाई प्रमुख कारण मान्नुभएको छ । विसं २०५८ को कृषि गणनाले एक करोड १० लाख कित्ता खेतीयोग्य जमीन खण्डीकरण भएकामा २०६८ सालको कृषि गणनासम्म पुग्दा सो सङ्ख्या बढेर एक करोड २० लाख कित्तामा टुक्रिएको उल्लेख छ भने कूल खेतीयोग्य जमीनमा १० लाख हेक्टर जमीन बाँझो रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।  

गणना २०५८ ले कृषिमा आत्मनिर्भर महिलाको सङ्ख्या आठ प्रतिशत देखाएको छ जबकि २०६८ ले १९ प्रतिशत देखाएको छ । कृषिमा बलिया युवा विदेश पलायन हुनु र जेनतेन घस्री मुन्टी लागेका महिला वर्गसमेत शहरमा बसाइँ सर्ने क्रममा बढोत्तरी आएपछि गाउँमा ६०÷७० नाघेका बूढाबूढीका भरमा हुने गरेको  खनीखोस्रीका कारण कृषि उत्पादनमा प्रगति नदेखिएको हो ।
 
विगत केही वर्ष अघिसम्म कृषिमा महिलाको आकर्षण देखिए पनि अन्ततः समयमा कृषि मल, बीउ, सिँचाइ सुविधा र बजार भाउ नपाएपछि कृषिमा गरी खाने अधिकांश महिला शहरमा केन्द्रीकृत भएका हुन् । विज्ञहरु भन्छन्, “वैदेशिक रोजगारमा गएका आफन्तले रोजगारीबाट पठाएको पैसाले परिवार धान्न पुग्ने भएपछि महिला गाउँबाट नजीकको शहरमा बसाइँ सर्न थाल्नुभयो, शहरीया सुखी जीवन बिताउने उहाँहरुमा आदत बस्यो, तर गाउँमा भने परिवारमध्येका  बूढाबूढीले खेतीपाती गर्न नसक्ने अवस्था आयो, फलस्वरुप जमीन बाँझो हुनुले उत्पादन घट्दै गएकाले प्रमुख खाद्यान्न बालीको परनिर्भरता चुलिँदै गएको हो ।”

कृषि गणना २०६८ अनुसार कूल खेतीयोग्य जमीन झण्डै ३१ लाख हेक्टर छ । त्यसमा झण्डै ११ लाख हेक्टर जमीन बाँझो छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा योगेन्द्रकुमार कार्कीले हालको जनसङ्ख्यालाई धान्न मकैमा १३, गहुँमा १०, चामलमा १५ र आलुमा १० प्रतिशतले उत्पादन बढाउनुपर्ने बताए ।
जनसङ्ख्या वृद्धिदरका तुलनामा खाद्यान्नको वृद्धिदर केही बढी देखिन्छ । आयातको अवस्थालाई तुलना गर्दा नेपालमा सोचेभन्दा धेरै खाद्यान्न आयात भएको छ । नेपालको जनसङ्ख्या वृद्धि दर २०५८ मा एक दशमलव तीन पाँच हुँदा उत्पादकत्व वृद्धि दर दुई दशमलव दुई पाँच भएको अवस्थामा कूल जनसङ्ख्या दुई करोड ३२ लाख थियो ।

विसं ०६८ को जनसङ्ख्या वृद्धिदर दुई दशमलव दुई पाँच हुँदा खाद्यान्नको वृद्धि दर तीन दशमलव पाँच प्रतिशत जबकि सो समयमा कूल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार थियो । वैशाख १९ गतेसम्म आइपुग्दा नेपालको जनसङ्ख्या तीन करोड तीन लाख २४ हजार ४४८ रहेको अनुमान केन्द्रीय तथ्याङ्क विभागले गरेको छ । अर्थात् ०७७÷७८ मा कृषिको उत्पादकत्व दर भने झण्डै चार प्रतिशत रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

तथ्याङ्कले जनसङ्ख्या वृद्धिको तुलनामा खाद्यान्न वृद्धिदरले धानेको देखाए पनि आयात प्रतिस्थापन भएको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष ०७६÷७७ मा रु ६२ अर्ब ६४ करोड आठ लाख छ हजार मूल्य बराबरको धान मकै, गहुँ र आलु आयात भएको उल्लेख छ । सोही अवधिमा धान १० लाख २९ हजार, मकै चार लाख ४८ हजार, गहुँ दुई लाख ३९ हजार र आलु तीन लाख ८५ हजार मेट्रिक टन आयात भएको उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोसमा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।