सुनसरीको बराहक्षेत्रमा गोली चल्यो, एक जना घाइते
काठमाडौं - सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा शनिबार साँझ प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन्। प्रहरीले गाँजा कारोबारीलाई नियन्त्रणमा लिनका लागि कालिन्द्र सामुदायिक वन क्षेत्रमा तीन राउण्ड गोली चलाएको हो।
घाइते हुनेमा ५५ वर्षीय रामप्रसाद लिम्बू रहेका छन्। उनको दाहिने तिघ्रामा गोली लागेको छ र उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शंकास्पद बोरा बोकेर हिंडिरहेकाहरुलाई रोक्न खोज्दा लिम्बूले खुकुरी प्रहार गर्न खोजेका थिए। अरु भने बोरा छाडेर भागेका थिए। खुकुरी प्रहार गर्न खोजेपछि आत्मरक्षाका लागि गोली चलाइएको सुनसरी प्रहरी प्रमुख सुमन तिम्सिनाले जानकारी दिएका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









