सर्वोच्चमा पेश गर्दा रविन्द्र मिश्रको हतकडी खोलियो
काठमाडौं - राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रलाई सर्वोच्च अदालतमा पेश गर्ने क्रममा प्रहरीले हतकडी खोलिदिएको छ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको आदेशअनुसार काठमाडौं प्रहरी परिसरले मिश्रलाई अदालतमा उपस्थित गराएको हो।
यसअघि उनलाई जिल्ला अदालतमा म्याद थपका लागि आठपटक हतकडी लगाएर पेश गरिएको थियो। तर पक्राउ परेको ४८औं दिनमा सर्वोच्चमा उपस्थित गराउँदा भने हतकडी नलगाई ल्याइएको छ।
मिश्रकी पत्नी सारिका कार्कीले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनपछि अदालतले २४ घण्टाभित्र मिश्रलाई अनुसन्धानसम्बन्धी सक्कल फाइलसहित पेश गर्न आदेश दिएको थियो। सोही आदेशअनुसार उनलाई फाइलसहित सर्वोच्चमा उपस्थित गराइएको हो।









