रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक २३ करोड लागतमा कालोपत्र हुने
काठमाडौँ - रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक रु २३ करोड ३२ लाखको लागतमा कालोपत्र हुने भएको छ। हाल यसको तयारी तीव्र गतिमा भइरहेको छ।
‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले उक्त सडकको स्तरोन्नति तथा कालोपत्रको प्रक्रिया अघि बढाएको हो। हाल सडक फराकिलो बनाउने, टेवा पर्खाल निर्माण गर्ने, वर्षा पानीको निकासका लागि नाली निर्माण गर्ने लगायतका कामहरू तीव्र रुपमा भइरहेका छन्।
इञ्जिनियर अरुण सेढाईंका अनुसार आगामी एक–दुई दिनमै कालोपत्रको काम सुरु हुने तयारी छ। सडकलाई नौ मिटर फराकिलो पारेर सात किलोमिटर डिबिएसडी प्रविधिमा कालोपत्र गरिनेछ भने दुई किलोमिटर सडक आरसिसी ढलान गरिनेछ।
‘ग्राभेलको काम सकिएको छ, बेस बिछ्याइएको छ, अब हामी कालोपत्रका लागि पूर्ण रूपमा तयार अवस्थामा छौँ,’ सेढाईंले बताए। उनका अनुसार पहिलो चरणमा उपल्लाचौरदेखि तोराखेतसम्म नौ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य राखिएको छ। साथै, रत्नेचौरदेखि उपल्लाचौरसम्म एक किलोमिटर ३०० मिटर सडक कालोपत्र र ३०० मिटर सडक आरसिसी ढलान गरिसकिएको छ।









