नागढुङ्गामा ट्राफिक निरीक्षकद्वारा जनपद प्रहरी कुटिएको भिडियो भाइरल
काठमाडौँ - काठमाडौँको नागढुङ्गामा ट्राफिक प्रहरी निरीक्षकले जनपद प्रहरीका एक सहायक हवल्दारलाई कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ।
उक्त घटना बुधवार बिहान भएको हो भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोद घिमिरेले जानकारी दिएका छन्। उनका अनुसार घटनाका सम्बन्धमा आवश्यक विवरण संकलनको काम भइरहेको छ।
एक प्रहरी स्रोतका अनुसार, जनपद प्रहरीका ती हवल्दारले भारतीय नम्बर प्लेट भएको गाडीबाट पैसा लिएको घटनालाई ट्राफिक प्रहरी निरीक्षकले देखेपछि विवाद चर्किएको र त्यसपछि कुटपिट भएको बताइएको छ।
एसएसपी घिमिरेले भने, "अनुसन्धानपछि विस्तृत विवरण सार्वजनिक गरिनेछ।"









