२०२५ को उत्कृष्ट महिला उद्यमीको अवार्ड" आभा शाहलाई
काठमाडौँ - न्यु बिजनेस एजले काठमाडौंमा आयोजित पाँचौँ 'न्यु बिजनेस एज समिट एण्ड अवार्डस्–२०२५' कार्यक्रममा सिल्बर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्टकी सञ्चालिका आभा शाहलाई 'उत्कृष्ट महिला उद्यमी' अवार्ड प्रदान गरेको छ। यस वर्षको अवार्ड समारोहमा देशभरका विभिन्न प्रदेशका सात महिला उद्यमीलाई सम्मानित गरिएको छ।
अवार्ड प्राप्त गर्ने अन्य महिला उद्यमीहरूमा सुदूरपश्चिम प्रदेशबाट इन्दिरा रेग्मी (चप्पल उद्योग), कर्णाली प्रदेशबाट कलशा देवी चौलागाईं ('कर्लाणी एग्रो उद्योग'), लुम्बिनी प्रदेशबाट प्रेमकुमारी पुन ('प्रेमनिशा अल्लो धागो उद्योग'), गण्डकी प्रदेशबाट रजनी शर्मा चपाईं ('रक्षा चापागाईं स्टोर'), बागमती प्रदेशबाट गीता अमात्य ('अमात्य स्टोर'), मधेस प्रदेशबाट कविता खड्का ('मध्य नेपाल प्रेस') र कोशी प्रदेशबाट दीपा गुरुङ ('ग्रीन सिटी इलाम ललीपप उद्योग') रहेका छन्।
यस वर्षको 'प्रविधि महिला' अवार्ड 'जनरल टेक्नोलोजी प्राली'की सुनयना पाण्डेले प्राप्त गरेकी छन्। त्यसैगरी, व्यवसायी महिलातर्फको अवार्ड 'सिद्धार्थ आर्ट ग्यालरी'की सङ्गीता थापाले, युवा महिला व्यवसायी विधामा एबी एग्रोकी केश्मा थापाले र प्रेरणादायी महिला उद्यमीतर्फ 'युनिक सेवा गार्मेन्टस्'की गङ्गा छन्त्यालले अवार्ड प्राप्त गरेकी छन्।
महिला उद्यमीतर्फको लाइफ टाइम अचिभमेन्ट अवार्ड 'नमुना सिलाइ'की संस्थापक ज्ञानी शोभा तुलाधरले प्राप्त गरिन्। अवार्ड चयन प्रक्रिया अनुसार, देशभर सक्रिय दुई हजार बढी महिला उद्यमीमध्येबाट पाँच सदस्यीय निर्णायक मण्डलमार्फत उत्कृष्ट महिला उद्यमी छानिएका हुन्।
कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले कानुन बनाएर मात्र महिला र पुरुषबीच समानता नहुने बताए। उद्योग वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर राउतले उद्यममा महिला सहभागिता बढाउन तीन तहकै सरकारमार्फत महिला मैत्री नीति तथा व्यवस्थापन गर्न थालिएको बताए।









